सन्तान प्राप्तिको चाहना र त्रिकोणात्मक सम्बन्धको कथामा ‘छ माया छपक्कै २’को ट्रेलर

सन्तान प्राप्तिको चाहना र त्रिकोणात्मक सम्बन्धको कथामा ‘छ माया छपक्कै २’को ट्रेलर

काठमाडौं : फूलपातीदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ।

तीन मिनेट लामो ट्रेलरले पारिवारिक सम्बन्ध, सन्तान प्राप्तिको चाहना र सामाजिक यथार्थबीचको द्वन्द्वलाई हाँस्य शैलीमा प्रस्तुत गरेको छ।

फिल्मको कथा मुख्य पात्र राजा अर्थात दीपकराज गिरीको वरिपरि घुमेको छ। उमेर ढल्किँदै जाँदा उनकी आमाले स्वर्ग जाने बाटो खुल्ने भन्दै नातिको चाहना गर्छिन्।

तर, स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले राजालाई स्वाभाविक रूपमा ‘बच्चा हुन नसक्ने’ रिपोर्ट दिन्छन्। रिपोर्टपछि परिवार धर्म, भाकल र ज्योतिषको शरणमा पुग्छ।

त्यहाँ माताको भूमिकामा देखिएकी दीपाश्री निरौलाले ‘दुईवटा सन्तान र दुईवटै विवाह’ लेखिएको भविष्यवाणी गरिदिन्छिन्।

ट्रेलरमा दीपकराज गिरी, उनकी श्रीमतीको भूमिकामा रहेकी केकी अधिकारी र कथामा नयाँ पात्रका रूपमा प्रवेश गरेकी अभिनेत्री सनिशा भट्टराईबीचको त्रिकोणात्मक सम्बन्ध र त्यसले निम्त्याउने पारिवारिक रमाइलो कलहलाई देखाइएको छ।

फिल्ममा दीपक, केकी, सनिशा दीपाश्रीको साथमा प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, म्याक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रबिन्द्र झा, कर्मा शाक्य र शारदा गिरी (काली आमा) लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद अभिनेता दीपकराज गिरी स्वयंले तयार पारेका हुन्।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन्।

फिल्ममा सुशान्त प्रजापति र आलोक शुक्लाको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण थापाको कोरियोग्राफी तथा तुजिल कर्माचार्यको पार्श्व सङ्गीत रहेको छ।

फूलपातीमा प्रदर्शन हुन लागेको यस फिल्मलाई काठमाडौं उपत्यका तथा मोफसलमा एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरण गर्दैछन्।

असोज २९, २०८३ बिहीबार १३:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।