अनुपको नक्कली दाह्री, १२गाउँ-२ माथि पर्न सक्छ भारी
काठमाडौं : फिल्म राम्रो कि नराम्रो ? यसको मापन केवल त्यसले गर्ने व्यापारलाई मात्रै मान्ने हो भने १२गाउँ सुपरहिट मान्नै पर्छ। तर फिल्मलाई हिट वा सुपरहिटको ट्याग दिँदा त्यसको व्यापार मात्रै हैन, एउटा फिल्म गतिलो बन्न चाहिने अनिवार्य पक्षहरूको दृष्टिकोणबाट हेर्ने हो भने यो फिल्म कमजोर थियो।
त्यसमा यही फिल्मको प्रचारले नेपाली फिल्ममा प्रतिस्पर्धी विरुद्धको साइबर ट्रोलिङको नराम्रो प्रवृत्ति भित्र्याएको थियो। यही फिल्मको सिक्वेल १२गाउँ-२ को टिम अहिले प्रदर्शन मिति तोकेर प्रचारमा सक्रिय छ।
कथासथा चौपट, केवल डाङडुङका दृश्यले पहिलो फिल्म धानेको थियो। त्यसमा एक्सन फिल्मको खडेरीले प्यास लागेका दर्शकले पनि काम गर्यो नै। बिराज भट्टको पुराना फ्यान पनि मिसिए। समीरको म्याचो लुक्सले पनि फिल्मको कमजोरीहरू छोप्दै दर्शकलाई हलसम्म तान्ने काम गरेकै हो।
तर सबै यस्तै कहाँ हुन्छ र! एक्सनका सिन र पुरानो फ्यान फलोइङले सधैँ साथ दिने भए निखिल उप्रेतीको फ्यान फलोइङ र आचार्यमा एक्सन सिन कम छन् र। तर हलमा फिल्म त प्याकप्याक परेको देखिन्छ।
फिल्मको ट्रेलर हेर्ने हो भने पहिलो फिल्ममा देखिएका कमजोरीहरूमा केही सुधार भएको हो कि भन्ने संकेत नदेखिएका हैनन्। कथा अनि पटकथाको पक्षमा कति सुधार भएको छ त्यो त फिल्म रिलिज नभई ट्रेलरकै भरमा आँकलन गर्न गाह्रै हुन्छ। फिल्मको ट्रेलरमा समावेश बिराज भट्ट अनि समिर भट्टको भरिलो आवाजले ट्रेलर हेर्ने दर्शक एक पटक टक्क भने अडिन्छन्।
तर जब भिएफएक्सका दृश्य अनि केही करुण दृश्यहरू आउँछन् त्यसले यो फिल्ममा पनि उही पुरानै कमजोरी दोहोरिएको हो कि भन्ने शंका भने बढाउँछ नै।
ट्रेलरका दृश्य अगाडि बढ्दै जान्छ नेगेटिभ चरित्रमा रहेका अनुप विक्रम शाहीको गेटअपमा देखिने दाह्रीले त दाँतमा कटक्क ढुंगा लाग्छ। कहिले जुँगा त कहिले कपालमा गरिएको कमजोरीका कारण फिल्म नै चौपट भएका उदाहरणहरू पनि छन्। त्यही श्रृंखला दोहोरिने हो भने १२गाउँ-२ का लागि अनुपविक्रमका लागि प्रयोग गरिएको हेर्दै नक्कली देखिएको दाह्री जस्तै कमजोरी भए भारी पर्न सक्छ।
असोज २७, २०८३ मंगलबार २२:३२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।