फिल्म मात्र होइन, गीत रिलिजमा पनि जुधाई!

फिल्म मात्र होइन, गीत रिलिजमा पनि जुधाई!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एउटै मितिमा दुई वा सोभन्दा बढी फिल्म जुधाउनुलाई सामान्य मानिन्छ। तर, एउटै दिन र ठिक एउटै समयमा प्रचार सामाग्री सार्वजनिक गर्ने प्रवृत्ति पनि देखा पर्न थालेको छ।

घटस्थापनाको दिन पनि संयोग हो वा अरू नै रणनीति! यस्तै दृश्य देखियो। अभिनेत्री तथा निर्मात्री रेखा थापा र अभिनेता/निर्माता भुवन केसीको फिल्मका गीत एकै समयमा युट्युबमा आए।

रेखा थापाले करिब एक साताअघि सामाजिक सञ्जालमार्फत नै घटस्थापनाको अवसर पारेर आफ्नो फिल्म ‘३६ को आंकडा’को गीत ‘बौलाउँछु कि क्या हो?’ रिलिज गर्ने जानकारी दिएकी थिइन्। उक्त समयमा कसै पनि गीत सार्वजनिक गर्ने चर्चा थिएन। 

तर, अचानक भुवन केसीले भने आफ्नो निर्माण तथा छोरा अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म ‘बाटुलो जुन’को गीत ‘मेरो मन चोर्यो सुटुक्कै’ सोही दिन सार्वजनिक गर्ने घोषणा गरे। रोचक कुरा के छ भने, घटस्थापनाको बिहान ठिक ११ बजेर ११ मिनेटमै दुवै पक्षका गीतहरू युट्युबमा एकसाथ प्रिमियर भए।

एउटै समयमा गीत जुध्नु संयोग वा दुई पुराना सहकर्मीबीचको व्यावसायिक प्रतिस्पर्धा भन्ने वियमा फिल्मकर्मीहरूका लागि निकै चासोको विषय बनेको छ। 

रिलिजको पहिलो दिन सामाजिक सञ्जालको माहोल र सुरुवाती चर्चा भुवन केसीकै गीततर्फ ढल्किएको थियो। पहिलो ३ घण्टामै ‘बाटुलो जुन’को गीतले एक लाखको हाराहारीमा भ्युज पाउँदा रेखाको गीत ५० हजार आसपासमै सीमित थियो। धेरैजसो फिल्मकर्मीले सामाजिक सञ्जालमा अनमोलको अभिनय रहेको गीत सेयर गर्दै प्रशंसा गरे।

तर, रिलिज भएको दुई दिन बित्दा नबित्दै युट्युबमा यी गीतहरूको भ्युजको आंकडामा बदलाव देखियो। यो समाचार तयार पार्दासम्म रेखाको गीत ‘बौलाउँछु कि क्या हो?’ले १४ लाख भ्युज पार गरिसकेको छ भने भुवनको ‘मेरो मन चोर्यो सुटुक्कै’ करिब ५ लाख भ्युजमा छ। यसरी भ्युजको आँकडालाई मात्र हेर्दा रेखाको गीत करिब ९ लाखले अगाडि देखियो।

यद्यपि, दर्शकको प्रतिक्रिया र इन्गेजमेन्टको पाटोमा भने ‘बाटुलो जुन’ अझै अगाडि छ। भुवनको गीतलाई २३ हजारभन्दा बढी लाइक र ३ हजारभन्दा बढी कमेन्ट प्राप्त हुँदा रेखाको गीतले २० हजार लाइक र करिब ११ सय कमेन्ट पाएको छ।

एकातिर भ्युजको अन्तर र अर्कोतिर लाइक-कमेन्टको पकडले यी दुई गीतबीचको प्रतिस्पर्धालाई रोचक बनाएको छ। एउटै समयमा आएका यी दुई सिर्जनामध्ये दर्शकको अन्तिम रोजाइ कुन बन्नेछ, त्यो आगामी दिनमा प्रस्ट हुँदै जानेछ। 

असोज २७, २०८३ मंगलबार १७:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।