सारथीको टिजरमा निरुता चिन्नै मुस्किल

सारथीको टिजरमा निरुता चिन्नै मुस्किल

काठमाडौं : फलानो कलाकार यति वर्षपछि फिल्ममा फर्किए भनेर हाइपको खेल खेले पनि कति समयपछि अभिनयमा फर्कियो भन्ने भन्दा पनि कस्तो अभिनय गरे भन्ने नै फिल्म सफलताको मुख्य मापन बन्ने गरेको छ। तर हल्ला हुन्छ त उही कति समयपछि फर्किए भन्नेकै।

अहिले पनि फिल्म बजारमा तृप्ति नाडकर नेपाली फिल्ममा अभिनय गर्न फर्किएको समय गन्ने काम भइरहेकै छ। यसैमा निरुता सिंह अनि उत्तम प्रधान पनि मिसिएका छन्। दुवै जना मंसिर ११ गते रिलिज मिति तोकिएको फिल्म सारथीबाट नेपाली फिल्मको अभिनयमा फर्कँदै छन्।

दुवै कलाकार दर्पण छायाँ जस्तो सफल फिल्मका कलाकार पनि हुन्। तर दुवैको अभिनयमा ग्याप भएको भने टन्नै भयो। यी दुवै कलाकारको अभिनय रहेको फिल्म सारथीले सोमबार टिजर सार्वजनिक गर्यो जहाँ उत्तम प्रधान देखिएका छैनन्, निरुता मात्र छिन्। झट्ट ती कलाकार निरुता हुन् भनेर ठम्याउन पनि गाह्रै हुन्छ। किनकि उनी नेपाली दर्शकमाझ बसेको छाप भन्दा भिन्न चरित्रमा छिन्।

शक्तिशाली देखिएको टिजरको मुख्य थिम आमाको संघर्षमा केन्द्रीय रहेको प्रस्ट देखिन्छ। टिजर निर्माणमा निर्माण टिमले गरेको दिमागी मिहेनत पनि प्रस्ट देखिन्छ। एक बालकसहित देखिएकी आमाको पीडा टिजरमा प्रस्ट देखिन्छ।

तर टिजर र ट्रेलर एकातिर फिल्म अर्कैतिर भएका उदाहरणहरू गन्नै नसक्ने रहेको अवस्थामा टिजरकै आधारमा फिल्मको भविष्यवाणी सम्भव हुन्न। तर फिल्ममा अक्कल लागेको छ है भन्न भने टिजरै काफी छ।

असोज २६, २०८३ सोमबार २१:२०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।