सफल फिल्मको सिक्वलदेखि निखिलको कमब्याकसम्म फ्लप, कुम्लोकुटोरो बोक्ने अवस्थामा निर्माता!
काठमाडौं : नेपाली फिल्मको बक्स अफिस रिपोर्ट हेर्ने हो भने अधिकांश निर्माताहरू कुम्लोकुटोरो बोकेर हिँड्नुपर्ने अवस्था छ। किनभने अधिकांश फिल्मले निर्माताको गोजी भर्नुभन्दा पनि रित्याइरहेको देखिन्छ।
सोमबार चलचित्र विकास बोर्डले हलहरूमा प्रदर्शनरत नौ नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ असोज २५ गतेसम्म २६ करोड दुई लाख ग्रस कलेक्सन गरेको छ। आइतबार रातिसम्म नौ लाख ४४ हजार ६१२ वटा टिकट बिक्री भएको यो फिल्म यस वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो।
साथै अर्को राम्रो कमाई गर्ने फिल्म हो, ‘पेन्सन पट्टा’। माओत्से गुरुङको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मले दश करोड नजिक व्यापार पुर्याएको छ। आइतबार रातिसम्म यो फिल्मले नौ करोड ८८ लाख ग्रस कलेक्सन गरेको छ।
हिजोसम्म यो फिल्मले तीन लाख ४७ हजार ८८२ वटा टिकट बिक्री भएको छ। यसअघि ‘लालीबजार’ कमाइको हिसाबले दोस्रोमा थियो। यो फिल्मको नौ करोड ३२ लाख रुपैयाँको कमाइलाई फिल्म पेन्सन पट्टाले उछिनेको हो।
फ्लपका बक्समा
यता भदौ १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले एक करोड ३१ लाख रुपैयाँको व्यापार भएको छ। अविनाश विक्रम शाहको निर्देशकीयमा निर्माण भएको यस फिल्ममा हात्तीको आक्रमणबाट आक्रान्त एक परिवारको कथा प्रस्तुत गरिएको छ।
जुन कथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग जोडिएको छ। फिल्ममा आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबागलगायत कलाकारले अभिनय गरेका छन्।
यता भदौ २६ गतेबाट नै प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’को कलेक्सन तीन करोड पाँच लाख पुगेको छ। दिव्यदेव पन्तको अभिनीत यो फिल्मले पहिलो साताको तुलनामा पछिल्लो व्यापार निकै अगाडि लगेको हो। फिल्मको अहिलेसम्म एक लाख सात हजार ५३३ वटा टिकट बिक्री भएको छ। गत साताको तुलनामा यो फिल्मको व्यापार एक करोड १२ लाख बढी रुपैयाँ बढेको हो।
भदौ २६ मै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले पनि निर्मातालाई हरिबिजोग बनाएको छ। अहिलेसम्म यो फिल्मको व्यापार तीन करोड पुग्न सकेको छ। आइतबार हिजोसम्मको यस फिल्मको व्यापार दुई करोड ९९ लाख रुपैयाँ छ। सशांक कँडेलका निर्देशनमा निर्माण भएको यस फिल्मलाई लगानी संगीतकार अर्जुन पोखरेलले गरेका हुन्।
असोजका फिल्मको दुर्गति उस्तै
असोज २ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ २’को पनि व्यापार डेढ करोड पुग्न सकेन। अहिलेसम्मको यसको व्यापार हेर्ने हो भने एक करोड ४६ लाख पुगेको छ। ज्ञानेन्द्र देउजाको निर्देशन तथा निर्माणमा बनेको यो फिल्मको व्यापार हेर्दा सुपरफ्लप बन्यो। अघिल्लो पार्टले कमाएको फिल्मले दोस्रो पार्ट चल्न सकेन। फिल्ममा महेश त्रिपाठी, केकी अधिकारी, कुशल विष्ट र आँचल शर्माको मुख्य भूमिका छ।
निखिल उप्रेतीको ९ वर्षपछि कमब्याक भएको फिल्म ‘आचार्य’ पनि बक्स अफिसमा छाउन सकेन। असोज ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले हलबाट एक करोड ६२ लाखको व्यापार गरेको छ। चर्चामा आएअनुसार यो फिल्मको लगानी चार करोड हाराहारी छ। त्यस कारण निखिलको कमब्याक निर्देशकीय तथा अभिनीत फिल्म फ्लपको बजारमा धकेलिँदै छ।
असोज १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘चमेलीको पोइ’ले पाँच लाख ५० हजार मात्रै ग्रस कलेक्सन गरेको छ। सुरक्षा पन्त र मुकुन भुसालको मुख्य भूमिका रहेको यो फिल्मको हरिबिजोग बनेको हो। एभरेष्ट बोहोराको निर्देशनमा निर्माण भएको यस फिल्मले निर्माताको लगानी बालुवामा पानी बनायो। यसै फिल्ममा अभिनय गरेका अर्का नारायण त्रिपाठी अमेरिकाबाट नेपाल फर्किएका थिए। तर दर्शक हलमा नदेखेपछि हतारिएर अमेरिका दौडिएका छन्।
सोही दिनबाट नै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’ले एक लाख ३८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। राम गौतमको निर्देशनमा निर्माण भएको यस फिल्ममा मालती कार्कीले लगानी गरेकी हुन्। जेनजी आन्दोलनको विषयवस्तुमा केन्द्रित यस फिल्मको कलाकारमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना र आशा विश्वकर्मालगायत छन्।
असोज २६, २०८३ सोमबार १५:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।