‘माग्ने बुढा’ले गर्दा मात्रै फिल्म चलेको भन्नेलाई दीपकले के भने?

‘माग्ने बुढा’ले गर्दा मात्रै फिल्म चलेको भन्नेलाई दीपकले के भने?

काठमाडौं : ‘छक्का पञ्जा’ टिममा ‘माग्ने बुढा’ अर्थात् केदारप्रसाद घिमिरे नभए फिल्म चल्दैन भन्ने भाष्य नेपाली फिल्म वृत्तमा पुरानै हो।

स्वयम् दीपकराज गिरीले पनि कुनै समय अन्तर्वार्ताहरूमा माग्नेलाई आफ्नो ‘एटीएम कार्ड’ को संज्ञा दिने गर्थे। तर, यसपटक समीकरण फेरिएको छ। टिममा ‘माग्ने बुढा’ छैनन्। उनी यतिबेला अमेरिकामा ग्रिनकार्डको चक्करमा अल्झिएको चर्चा छ। यद्यपि उनी यसलाई नकार्छन्।

टिमको मुख्य खम्बा मानिएका माग्ने नै नभएपछि प्रदर्शनको संघारमा रहेको दीपकको नयाँ फिल्मको भविष्य के होला? दर्शक र मिडियामा यो चासोको विषय बन्नु स्वाभाविक थियो।

फिल्म रिलिजको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिडियाकर्मीले यो पेचिलो प्रश्न दीपकसामु तेर्स्याइहाले- ‘माग्नेले गर्दा मात्रै फिल्म चलेको हो, फिल्म उनैले धानेका हुन् भन्नेलाई के भन्नुहुन्छ?’

प्रश्न भुइँमा खस्न नपाउँदै दीपकले आफ्नै शैलीमा चेस (बुद्धिचाल) को उदाहरण दिँदै जवाफ फर्काए, “चेस खेल्न त कम्तीमा दुई जना चाहिन्छ भने सिनेमा त झन् पूरै टिमवर्क हो। एउटा मात्र पात्रले सिनेमा चल्ने भए त के हुन्थ्यो र!”

दीपकले थपे, “धेरै पात्रमध्ये कुनै एउटा पात्र बढी लोकप्रिय भइदिन्छ। त्यो लोकप्रिय पात्रबिना सिनेमा बन्दैन कि क्या हो भनेर सोच्नु दर्शकको माया हो, त्यो नराम्रो होइन। तर हाम्रो बुझाइ के हो भने, कथा राम्रो भएन भने कुनै पनि पात्रले फिल्म धान्न सक्दैन। कथा बलियो बन्यो भने सामान्य पात्र पनि पर्दामा गज्जब देखिन्छ। कथा गतिलो छैन भने जतिसुकै चर्चित पात्र ल्याए पनि फिल्म बिग्रिन्छ।”

बक्सअफिसको दबाब र ‘१० करोड’ को आँकडा
यो फिल्म बक्सअफिसमा एक्लै भने छैन। हलमा ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ जस्ता बहुप्रतीक्षित फिल्मसँग भिडन्त पक्का छ। त्यसमाथि लगातार आठवटा ब्लकबस्टर फिल्म दिएर ‘आमा सरस्वती मुभिज’ को ब्यानरबाट आउन लागेको यो नवौँ फिल्म भएकाले पनि यसको व्यापारिक आँकडामा सबैको नजर छ।

बक्सअफिस कलेक्सनबारे सोधिएको प्रश्नमा दीपकले भने, “हामी दर्शकको दिमागमा यसअघिका आठवटा फिल्मबाट बसिसकेका छौँ। यो नवौँ फिल्मलाई पनि दर्शकले त्यसरी नै स्वागत गरिदिनुभयो भने हाम्रो जित हुनेछ।”

अघिल्ला फिल्महरूले औसत ९ करोडमाथिको व्यापार गरेकाले दीपकको भनाइको अन्तर्य यसपटक पनि फिल्मले १० करोडको आँकडा पार गरोस् भन्ने नै देखिन्छ। यद्यपि उनले व्यावसायिक दबाब आफूमाथि नरहेको दाबी गरे।

“मलाई पैसाको आँकडासँग धेरै मतलब छैन किनभने यसको निर्माता अर्कै (रोहित अधिकारी) हुनुहुन्छ। मलाई निर्माताको जस्तो छटपटी र प्रेसर छैन। ‘दीपकले कथा राम्रो भनेछ, हँसाएछ’ भनिदिए मेरो लागि त्यही नै जित हो।”

अन्तिम समयमा ‘रि-सुट’ को जोखिम
फिल्मलाई पूर्ण बनाउन दीपक कतिसम्म गम्भीर छन् भन्ने कुरा यसको छायाङ्कन तालिकाले पनि देखाउँछ। फिल्मको सम्पादन लगभग सकिएपछि पनि चित्त नबुझेका दृश्यहरू गत शनिबारसम्म फेरि ‘रि-सुट’ गरिएको थियो। कमजोर देखिएका दृश्यहरू काटेर नयाँ दृश्य जोड्दै फिल्मलाई अन्तिम रूप दिइएको हो।

दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको लगानी रहेको यस फिल्ममा दीपकका साथमा केकी अधिकारी, सनिशा भट्टराई, रिहान गिरी, निर्मल शर्मा, रमा थपलिया, प्रकाश घिमिरे, मेक्सम गौडेल लगायतको अभिनय छ।

माग्ने बुढाबिना हलमा आउन लागेका दीपकलाई दर्शकले पहिले झैँ काँध थाप्छन् कि माग्नेको अभाव पर्दामा खट्किन्छ, त्यो भने बक्सअफिसको नतिजाले नै देखाउनेछ।

असोज २६, २०८३ सोमबार १३:४६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।