पल-मलिकाको ‘स्टारडम’ले फिल्म तार्ला निर्देशकज्यू?

पल-मलिकाको ‘स्टारडम’ले फिल्म तार्ला निर्देशकज्यू?

काठमाडौं : म्युजिक भिडियोमा क्यामेराअगाडि जिउ हल्लाउनु र अढाई घण्टाको सिनेमामा दर्शकलाई बाँधेर राख्नु आकाश-जमिनको फरक कुरा हो।

भिडियो केही मिनेटको हाउभाउ र ग्ल्यामरमै बित्छ, तर सिनेमा धान्न सशक्त पटकथा, जीवन्त संवाद र उम्दा अभिनय चाहिन्छ।

युट्युबका म्युजिक भिडियोमा पल शाह र मलिका महतको जोडी देखिनासाथ बजारमा ‘पिएम जोडी’को हाइप सिर्जना गरियो। अहिले तिनै भिडियोका जोडीलाई पर्दामा देखाएर निर्देशक चन्द्र पन्तले आफ्नो नयाँ फिल्म ‘आ बाट आमा २’ मा ठूलो जोखिम मोलेका छन्।

अघिल्लो शृङ्खलाले बक्सअफिसमा राम्रो व्यापार गरेपछि हौसिएका निर्देशक पन्तले सिक्वेलमा अघिल्ला अभिनेत्रीहरू उषा उप्रेती र सिम्रन पन्तलाई बिदा गरेर मलिका महत र नवअभिनेत्री रिश्ता गुरुङलाई भित्र्याएका छन्।

मलिका महतको अभिनय यात्रा हेर्ने हो भने आधा दर्जन फिल्म खेलिसक्दा पनि उनको एउटा पनि फिल्म पनि बक्स अफिसमा हिट हुन सकेको छैन।

सात वर्षअघिको डेब्यु फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ देखि खगेन्द्र लामिछानेसँगको ‘पानी फोटो’ सम्मले बक्सअफिसमा पानीसमेत भन्न पाएनन्। त्यसपछि आएका ‘अगस्त्य’ र ‘सतीदेवी’ को हविगत पनि उस्तै रह्यो।

यस्तो अवस्थामा निर्देशक पन्तको सम्पूर्ण आशा र भरोसा अर्का अभिनेता पल शाहमा टिकेको देखिन्छ। यतिबेला निर्माण टिम पलकै नाम बेचेर प्रचारप्रसारका लागि मोफसल दौडाहामा छ।

तर, प्रचारको शैली भने अनौठो र हास्यास्पद छ। कलाकारका अगाडि-पछाडि बाउन्सरहरूको लस्कर देखिन्छ। बुटवलमा आयोजित पत्रकार सम्मेलनका तस्बिर हेर्दा पत्रकारभन्दा बढी बाउन्सरको तामझाम देखिन्थ्यो।

केवल पल शाहको अनुहार हेरेर नेपाली दर्शकले हल भरिदिएका उदाहरण विरलै छन्। उनका पछिल्ला फिल्महरूको व्यापारिक ग्राफले पनि यही देखाउँछ। त्यसमाथि यसपटक बक्सअफिसको भिडन्त सहज छैन। अन्य बहुप्रतीक्षित फिल्महरूसँग दर्शक बाँडिने पक्का छ।

यस्तो कडा प्रतिस्पर्धामा कन्टेन्ट बलियो बनाउनुको साटो केवल दुई भिडियो स्टारको ‘केमेस्ट्री’ बेचेर हलमा दर्शक आउँछन् भन्ने सोच्नु निर्देशकको भ्रम मात्र हुनसक्छ।

युट्युबमा सित्तैमा हेरिने ‘पिएम जोडी’लाई तीन सय रुपैयाँको टिकट काटेर हेर्न दर्शक हलसम्म किन जाने? सस्तो प्रचार र बाउन्सरको तामझामभन्दा बढी ध्यान ‘कन्टेन्ट’ मा दिने कि? आखिर दर्शकले खोज्ने त कथा नै हो!

असोज २६, २०८३ सोमबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।