‘चमेलीको पोइ’ हलमा नटिकेपछि अमेरिका फर्किए ‘ज्वाइँ’

‘चमेलीको पोइ’ हलमा नटिकेपछि अमेरिका फर्किए ‘ज्वाइँ’

काठमाडौं : कुनै समय सानादेखि ठूला पर्दासम्म आफ्नो जबर्जस्त हास्य अभिनयले दर्शकलाई पेट मिचिमिची हँसाउने अभिनेता नारायण त्रिपाठी १८ वर्षपछिको कमब्याक खल्लो बनाउँदै अन्ततः अमेरिका फर्किएका छन्।

‘प्रेम चरो’ र ‘ज्वाइँ’ उपनामले लोकप्रिय त्रिपाठीले लामो समयपछि फिल्म ‘चमेलीको पोइ’मार्फत नेपाली रजतपटमा पुनरागमन गरेका थिए।

फिल्म रिलिजअघि मिडियामा निकै हल्लीखल्ली मच्चाएका र अन्तरवार्तामा छाएका उनको यो फिल्मले हलमा हप्ता दिन पनि सास फेर्न सकेन। बक्स अफिसमा फिल्म नराम्ररी पछारिएपछि उनी निराश हुँदै पुरानै कर्मथलो अमेरिका उडे।

अमेरिका फर्किने क्रममा उनले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै आफ्नो चित्त बुझाउने प्रयास गरे।

“मातृभूमिको केही सेवा गर्ने उद्देश्यले नेपाल आएको थिएँ,” त्रिपाठीले लेखे, “आफ्नो जिम्मेवारी र काम सम्पन्न गर्दै विभिन्न सञ्चारमाध्यममार्फत आफ्नो कलाकारिताको यात्रा र चलचित्र ‘चमेलीको पोई’ दर्शकमाझ पुर्याउन पाउँदा अत्यन्तै खुसी र गौरवान्वित महसुस गरेको छु।”

उनले केही नयाँ सिर्जनाहरू पनि चाँडै दर्शकमाझ ल्याउने बाचा गरेका छन्।

हिजोको त्यो ‘क्रेज’
नेपाल टेलिभिजनको स्वर्णिम युगमा नारायण त्रिपाठीको बोली, लवज र शारीरिक हाउभाउको छुट्टै साम्राज्य थियो।

टेलिश्रृंखला ‘ज्वाइँ’मा खोला तार्दा उनले बोलेको संवाद ‘तोरी फुला गाउँ, ज्वाइँ मेरो नाम’ र अर्को थेगो ‘खान लाउन पो दुःख, पैसाको के को दुःख!’ आज पनि नेपाली जनजिब्रोमा झुण्डिएकै छ।

त्यतिबेला उनले ‘कस्तो साइनो’, ‘मनमा माया’, ‘साथी’, ‘गोर्खाली’, ‘आफन्त’लगायत दर्जनौं व्यावसायिक रूपमा सफल फिल्ममा अभिनय गरेका थिए। त्यो समय पर्दामा मुख्य हिरोको भन्दा उनको ‘क्रेज’ र माग बढी हुन्थ्यो।

तर, समय बदलिएछ। हिजो टेलिभिजनको पर्दामा उनलाई हेरेर हाँस्ने पुस्ता र आजको नयाँ पुस्ता दुवैले सायद ती पुराना ‘ज्वाइँ’को नोस्टाल्जियालाई बक्स अफिसको टिकटमा बदल्न चाहेनन्। नत्र त, ‘चमेलीको पोइ’ले यति छिट्टै दम तोड्ने थिएन कि!

असोज २३, २०८३ शुक्रबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।