‘मेयर’ हार्डडिक्समै थन्किएपछि दीपेन्द्रको गुपचुप चाल, सके ‘श्रीमान् श्रीमती’को सुटिङ
काठमाडौं : फिल्म निर्माणको घोषणादेखि नै मिडियामा तामझाम गर्न रुचाउने निर्देशक दीपेन्द्र के खनाल यसपटक भने ठ्याक्कै उल्टो शैलीमा देखिए।
कुनै प्रचारप्रसार र हल्लीखल्लीबिना नै उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन लगभग सकाए।
‘पशुपति प्रसाद’ र ‘आमा’जस्ता सफल फिल्म दिएका निर्देशक खनालले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तलाई जोडी बाँधेर सुटिङ सकेका हुन्।
निर्देशक खनालका अनुसार एउटा गीतबाहेक फिल्मको सम्पूर्ण दृश्य छायांकन प्याकअप भइसकेको छ।
यसअघि ‘क्याप्टेन साब’ र ‘मेयर’ जस्ता फिल्मको घोषणामा मिडियालाई साक्षी राखेर भव्य माहोल बनाउने दीपेन्द्रले यसपटक गुपचुप काम गर्नुको मुख्य कारण ‘मेयर’को ह्याङओभर मानिएको छ।
सर्लाहीका विवादास्पद तत्कालीन मेयर भरत थापाको बायोपिकमा निर्माण गरिएको फिल्म ‘मेयर’ प्रदर्शन हुन नसकेर अझै हार्ड डिक्समै थन्किएको छ, जसले दीपेन्द्रलाई लामो समयदेखि तनावमा छन्।
सम्भवतः त्यही तितो अनुभवबाट पाठ सिक्दै उनले यसपटक काम सकिएपछि मात्र मुख खोल्ने रणनीति लिएका हुन्।
‘पटकथा प्रोडक्सन’ र ‘टुकी आर्ट्स’को संयुक्त प्रस्तुतिमा बनेको ‘श्रीमान् श्रीमती’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो। निर्माण पक्षले खगेन्द्र र सुरक्षाबाहेक अन्य कलाकारको लाइनअप र प्रदर्शन मितिबारे अझै सस्पेन्स नै राखेको छ।
फ्लपको चक्रव्यूहमा खगेन्द्र र सुरक्षा
यो फिल्म निर्देशक दीपेन्द्रका लागि जति महत्त्वपूर्ण छ, मुख्य कलाकारद्वय खगेन्द्र र सुरक्षाका लागि त्योभन्दा बढी ‘बक्स अफिस अग्निपरीक्षा’ बन्ने देखिन्छ। पछिल्लो समय यी दुवै कलाकार लगातारको असफलताबाट गुज्रिरहेका छन्।
सुरक्षा अभिनित पछिल्लो फिल्म ‘चमेलीको पोइ’ हलमा हप्ता दिन पनि टिक्न सकेन। उता, खगेन्द्रको अवस्था पनि उस्तै निराशाजनक छ। उनका पछिल्ला दुई फिल्म ‘के घर के डेरा : घर नं २’ र ‘हर्ष’ बक्स अफिसमा नराम्ररी पछारिएका थिए।
अभिनयमा अब्बल मानिए पनि बक्स अफिसमा कमजोर साबित भइरहेका खगेन्द्र र सुरक्षालाई दीपेन्द्रले ‘श्रीमान् श्रीमती’मार्फत फेरि ‘हिट’को स्वाद चखाउन सक्लान् वा नसक्लान्, त्यो भने हेर्न बाँकी छ।
असोज २३, २०८३ शुक्रबार १४:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।