दसैंमा भिड्ने फिल्मको गीत रिलिजमै रोचक प्रतिस्पर्धा, युट्युब भ्युजमा ‘छ माया छपक्कै २’ अगाडि
काठमाडौं : आगामी दसैंको अवसर पारेर प्रदर्शन हुन लागेका दुई फिल्मले एकैदिन गित रिलिज गरेका छन्। बुधबार एक घण्टाको फरकमा दुई ठूला फिल्म ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ ले युट्युबमा आफ्ना गीत रिलिज गरे।
युट्युबमा सार्वजनिक भएका दुवै गीतमा रोचक प्रतिस्पर्धा देखिएको छ। युट्युबमा हेर्ने हो भने २२ घण्टा अघि ‘१२ गाउँ २’को गीत ‘रेशमी रुमाल’ अपलोड भएको छ। त्यसको ठ्याक्कै एक घण्टापछि ‘छ माया छपक्कै २’को गीत ‘माया एक्पायरी डेट हुँदैन’ रिलिज गरिएको छ।
समाचार तयार पार्दासम्म ‘छ माया छपक्कै २’ को गीतले ५ लाख भ्युज पाइसकेको छ भने ‘१२ गाउँ २’ को गीतलाई त्यसको आधा दर्शकले हेरेका छन्। भ्युजमा अन्तर भए पनि दुवै गीतमा लाइक गर्नेको संख्या भने करिब १३ हजारको हाराहारीमा छ। कमेन्ट बक्समा भने ‘१२ गाउँ २’ अगाडि देखिएको छ। ‘छ माया छपक्कै २’ को गितमा मा ६४८ जनाले कमेन्ट गर्दा ‘१२ गाउँ २’ मा एक हजार ७४५ जनाले कमेन्ट गरेका छन्।
यसैबीच, असोज ३० गतेबाटै प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘आ बाट आमा २’ ले पनि आज आफ्नो नयाँ गीत सार्वजनिक गर्दैछ। यस फिल्मको अघिल्लो गीतले युट्युबमा ६० लाखभन्दा बढी भ्युअर्स कमाइसकेकाले यसपटकको डिजिटल प्रतिस्पर्धा अझ रोचक हुने अनुमान गरिएको छ।
दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माणमा बनेको 'छ माया छपक्कै २' असोज ३१ गते फुलपातीमा रिलिज हुँदैछ। यसको अघिल्लो पार्टले ९ करोडभन्दा माथिको व्यापार गरेको थियो। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, सनिशा भट्टराई र रियान गिरीको मुख्य भूमिका छ।
यता, एक्सन स्टार विराज भट्टको निर्देशन तथा अभिनयमा बनेको '१२ गाउँ २' मा समिर भट्ट र कृशु शाहीको मुख्य भूमिका रहेको छ। यो फिल्म फुलपातीको अघिल्लो दिन अर्थात असोज ३० बाटै प्रदर्शनमा आउनेछ।
चन्द्र पन्तको निर्माण तथा निर्देशनमा बनेको 'आ बाट आमा २' पनि असोज ३० गते नै प्रदर्शनमा आउँदैछ। फिल्ममा विपना थापा, पल शाह र प्रदीप रावतजस्ता कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको प्रारम्भिक डिजिटल प्रचारका सामाग्रिले दर्शकको चासो देखाए पनि बक्स अफिसको नतिजा कुन फिल्मको पक्षमा जान्छ भन्ने कुरा भने आगामी शुक्रबार हल प्रदर्शनपछि नै थाहा हुनेछ।
असोज २२, २०८३ बिहीबार १६:०७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।