भारतीय अभिनेता नाना पाटेकरको मृत्यु

भारतीय अभिनेता नाना पाटेकरको मृत्यु

एजेन्सी : हिन्दी र मराठी सिनेमाका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा मृत्यु भएको छ। गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयघात भएपछि बिहीबार बिहान मणिपाल अस्पताल पुर्याइएका पाटेकरलाई चिकित्सकहरूले मृत घोषित गरेका हुन्।

मणिपाल अस्पतालको अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालकरका अनुसार पाटेकरलाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन बन्द भइसकेको थियो।

अस्पतालमा करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिएर बचाउने प्रयास गरिए पनि बिहान ५:२० बजे उनलाई मृत घोषित गरिएको थियो। घटनालाई मेडिको-लिगल केसको रूपमा दर्ता गरी थप अनुसन्धान तथा पोस्टमोर्टमका लागि शवलाई गोवा मेडिकल कलेज लगिएको छ।

उनका छोरा मल्हार पाटेकरका अनुसार राति करिब साढे २ बजे छातीमा तीव्र दुखाइ भएपछि उनले साथीलाई सन्देश पठाएका थिए।

बिहान ४ बजेतिर साथी र सहयोगी घर पुग्दा उनको अवस्था नाजुक भइसकेको थियो। अस्पतालबाट एम्बुलेन्ससहित पुगेको आपत्कालीन मेडिकल टोलीले उनलाई अचेत अवस्थामा फेला पारेको थियो।

पाँच दशक लामो फिल्मी यात्रा र विशिष्ट पहिचान
सन् १९५१ मा जन्मिएका नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। उनले सन् १९७८ मा चलचित्र ‘गमन’ मार्फत बलिउडमा डेब्यु गरेका थिए। आफ्नो विशिष्ट संवाद शैली, गम्भीर अभिव्यक्ति र सशक्त अभिनयका कारण उनले दर्शकको मनमा अमिट छाप छोडे।

उनले ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी: द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता थुप्रै ऐतिहासिक तथा व्यावसायिक रूपमा सफल चलचित्रहरूमा अभिनय गरे। उनले विशाल भारद्वाजको पछिल्लो डार्क क्राइम ड्रामा ‘ओ रोमियो’ र ‘हाउसफुल ५’ जस्ता चलचित्रमा पनि अभिनय गरेका थिए।

अभिनय यात्रामा उनले तीन पटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेका थिए। कला क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले सन् २०१३ मा उनलाई प्रतिष्ठित ‘पद्मश्री’ सम्मानबाट विभूषित गरेको थियो।

नाना पाटेकर पर्दामा मात्र नभई वास्तविक जीवनमा पनि एक सच्चा नायकका रूपमा चिनिन्थे। उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए।

यस फाउन्डेसनमार्फत उनले महाराष्ट्रका खडेरी प्रभावित ग्रामीण क्षेत्रहरूमा जल संरक्षण, बाँध निर्माण तथा ऋणका कारण आत्महत्या गरेका विपन्न किसानका परिवारहरूलाई आर्थिक सहयोग गर्दै आएका थिए।

सिनेमा र राजनीति क्षेत्र स्तब्ध
नाना पाटेकरको अप्रत्याशित निधनले भारतीय चलचित्र जगत र राजनीतिक वृत्त स्तब्ध बनेको छ।

अभिनेता अक्षय कुमार, रितेश देशमुख, जुनियर एनटीआर र आदिल हुसेन लगायतका कलाकारहरूले गहिरो दुःख व्यक्त गर्दै ‘एउटा महान् युगको अन्त्य’ भएको प्रतिक्रिया दिएका छन्।

अक्षय कुमारले नानाको ऊर्जा र कामप्रतिको समर्पणलाई सधैँ सम्झिरहने बताएका छन् भने रितेश देशमुखले उनको निधनलाई शब्दमा व्यक्त गर्न नसकिने क्षति भनेका छन्।

त्यसैगरी केन्द्रीय मन्त्री नितिन गडकरी, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायतका उच्च राजनीतिक नेतृत्वले शोक सन्देश जारी गर्दै भारतीय कला र समाजले एक संवेदनशील व्यक्तित्व गुमाएको बताएका छन्।

असोज २२, २०८३ बिहीबार ०९:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।