पोहोर ‘चोर र साँढे’को गाली, अहिले ‘दीपक दाइ’ भन्दै ताली !

पोहोर ‘चोर र साँढे’को गाली, अहिले ‘दीपक दाइ’ भन्दै ताली !

काठमाडौं : राजनीति र चलचित्र क्षेत्रका बारेमा एउटा पुरानो भनाइ छ- ‘यहाँ न कोही स्थायी शत्रु हुन्छन्, न स्थायी मित्र; जे हुन्छ केवल स्वार्थ र समयको खेल हुन्छ।’

ठीक एक वर्षअघि नेपाली चलचित्र बजारमा देखिएको एउटा निकै कुरुप र तिक्ततापूर्ण वाकयुद्धलाई नजिकबाट नियालेका जो-कोहीलाई आजको दृश्य देख्दा यो उखान दुरुस्तै लाग्छ।

गत वर्ष दशैंको मुखमा सामाजिक सञ्जालमा मर्यादाका सम्पूर्ण सीमाहरू भत्काउँदै ‘काटाकाट’ मै उत्रिएका दुई चर्चित निर्माता- दीपकराज गिरी र सन्तोष सेनबीच अहिले नाटकीय रूपमा मिलेका छन्।

पोहोर एक-अर्काको अस्तित्व मेटाउन ‘साइबर सेना’ परिचालनदेखि ‘चोर’ र ‘साँढे’ जस्ता व्यक्तिगत गालीगलौजमा ओर्लिएका यी दुई पात्रबीच आज देखिएको यो प्रेमले चलचित्र वृत्त तरङ्गित भयो।

पशुपतिको कसमदेखि ‘खेताला संस्कृति’ सम्म
समयलाई ठीक एक वर्ष पछाडि फर्काऔँ। २०८२ भदौ तेस्रो साता, जब दशैंको छेको पारेर ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ भिड्ने तरखरमा थिए।

त्यतिबेला दीपकराज गिरीले फेसबुकमा सांकेतिक पोस्ट गर्दै लेखेका थिए- ‘आफ्नो हिरो बाघ, अरूको स्याल? बाघ पनि जनावर नै हो।’

त्यसपछि आगो यसरी दन्कियो कि सन्तोष सेनले पशुपतिनाथ र कालीमाताको कसम खाँदै ‘आफूले कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको भए यसै क्षण ज्यान जाओस्’ सम्म भन्न भ्याए।

विवाद त्यतिमै थामिएन। दीपकराजले ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले... बिचरो न व्यङ्ग्य बुझ्छ न बौद्धिकता, बुरुक बुरुक साँढे उफ्रेझैँ उफ्रिन्छ’ भन्दै सेनमाथि तिखो प्रहार गरे।

जवाफमा सेनले अडियो नै सार्वजनिक गर्दै दीपकको समूहले आफूविरुद्ध ‘मास्टर प्लान’ बनाएको दाबी गरे। दीपकले पनि यसलाई ‘भोजपुरी शैलीको आक्रामक प्रचार’ र ‘खेताला संस्कृति’ भन्दै काउन्टर भिडियो ल्याउने चेतावनी दिए।

त्यो तिक्तता यति उग्र थियो कि लाग्थ्यो- यी दुई बीच अब जीवनभर बोलचाल हुने छैन, न त पानी बाराबारको स्थिति नै अन्त्य हुनेछ।

आज सेनको यु-टर्न
तर, आज २०८३ असोज २१ गते आइपुग्दा दृश्य १८० डिग्रीले बदलिएको छ।

यसपालिको दशैंमा सन्तोष सेन मैदानबाहिर छन्; उनको कुनै चलचित्र रिलिज छैन। उनका अघिल्ला योजना र चलचित्र ‘बलिदान’को बक्सअफिस व्यापार सुस्त रहेपछि उनी दर्शकदीर्घामा सीमित हुन पुगेका छन्।

अर्कोतर्फ, दीपकराज गिरी आफ्नो नयाँ सिक्वेल ‘छ माया छपक्कै २’ लिएर बक्सअफिस कब्जा गर्न तम्तयार छन्।

यही मौकामा सन्तोष सेनले फेसबुकमा दीपकराज गिरीका तीन फरक अवतारका तस्बिर पोस्ट गर्दै प्रशंसाको ओइरो लगाएका छन्।

सेनले लेखेका छन्, ‘के हो दीपक दाई, एउटै चलचित्रमा यति धेरै फरक-फरक अवतार... 😄 रिलिज मितिमा पनि एक्लै हुनुहुन्छ, आनन्द छ... समाजका घटनालाई कथामा जोडेर दर्शकलाई हँसाई-हँसाई हलबाट निकाल्ने तपाईंको शैली नै विशेष लाग्छ... “छ माया छपक्कै” को सफलताको हार्दिक शुभकामना दीपक दाई र टिम...।’

जसलाई हिजो ‘पापी सोच भएको’ आरोप लगाएका थिए, आज उनैलाई ‘दीपक दाइ’ भन्दै स्तुतिगान गाएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसलाई सहजै पचाइसकेका छैनन्।

एक प्रयोगकर्ताले ‘हो, यसरी खुट्टा तानातान बन्द हुनुपर्छ’ भन्दै सकारात्मक टिप्पणी गरे पनि अर्का प्रयोगकर्ता चक्र बलायर सानुले लेखेका छन्- ‘१२ गाउँ २ को त नाम पनि लिएको देखिँदैन, जसले पनि बलेको आगो नै ताप्दा रहेछन् भन्ने बुझियो।’

के दीपक साँच्चै ‘एक्लै’ छन् त मैदानमा?
सन्तोष सेनले आफ्नो स्टाटसमा ‘रिलिज मितिमा पनि एक्लै हुनुहुन्छ, आनन्द छ, असोज ३१ गते अरू चलचित्रसँग जुध्नुपरेको छैन’ भन्दै दीपकलाई मक्ख पार्ने प्रयास गरेका छन्। तर, भित्री बक्सअफिस यथार्थ भने सेनले भनेजस्तो सपाट छैन।

यसपालिको दशैंको फूलपातीमा कुनै ‘एकलौटी राज’ हुने छैन, बरु तीनवटा बलिया सिक्वेलहरू आमनेसामने हुँदैछन्।

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात फूलपातीकै दिन रिलिज हुँदैछ। दीपक-दीपाको ब्रान्ड भ्यालुकै कारण उनीहरूले निर्माण गरेको फिल्मको समीक्षा जस्तो आए पनि लगानी सुरक्षित गरेर नाफै कमाउने गरेका छन्।

विराज भट्ट र उनका छोरा समीर भट्टको एक्सन सिक्वेल हो- फिल्म ‘१२ गाउँ २’। अघिल्लो भाग ब्लकबस्टर भए पनि विराजलाई पछिल्लो फिल्म ‘बलिदान’को असफलताको दबाब यसपालि पक्कै छ। यो फिल्म फूलपातीको एक दिनअगावै अर्थात् असोज ३० गते नै पर्दामा आउँदैछ।

लामो समयपछि रजतपटमा फर्किएकी सदाबहार अभिनेत्री विपना थापा र स्टार अभिनेता पल शाहको मुख्य भूमिका रहेको भावनात्मक पारिवारिक ड्रामा ‘आ बाट आमा २’ पनि असोज ३० गते नै रिलिज हुँदैछ।

दीपकराज गिरीको ‘छ माया छपक्कै २’ हलमा लाग्नुभन्दा २४ घण्टाअघि नै दुई ठूला प्रतिस्पर्धीले मल्टिप्लेक्सका स्क्रिनहरू ओगटिसकेका हुनेछन्। त्यसैले सेनले दाबी गरे झैँ दीपक मैदानमा ‘एक्लै’ र ‘आनन्द’मा भने छैनन्; यहाँ त्रिपक्षीय भिडन्त पक्का छ।

मित्रता कि बजार रणनीतिको पाखण्ड?
एक वर्षअघि गालीका शब्दकोश रित्त्याउनेहरू आज एकाएक दाजुभाइमा रूपान्तरण हुनुलाई परिपक्वता मान्ने कि विशुद्ध स्वार्थप्रेरित ‘पाखण्ड’?

यसको जवाफ खोज्न धेरै टाढा जानु पर्दैन। जबसम्म बक्सअफिसमा आफ्नै अस्तित्वको लडाइँ हुन्छ, तबसम्म ‘प्रतिद्वन्द्वी’लाई गिराउन हरहर्कत गरिन्छ- हिजो सेन र गिरी दुवैले त्यही गरे।

तर, जब आफू मैदानबाहिर भइन्छ र बजारमा कसैको पल्ला भारी देखिन्छ, तब सम्बन्ध सुधारिएको देखाउने अवस्था नेपाली फिल्म वृत्तमा नौलो होइन।

सेनले हिजो आफ्नै सहयात्री झैँ रहेका विराज भट्टको ‘१२ गाउँ २’ लाई पूर्णतः बेवास्ता गरेर सिधै दीपकराजको शरणमा पुगे। उनले ‘१२ गाउँ २’को प्रचारका लागि एक शब्द पनि खर्चिएका छैनन्।

जे होस्, सामाजिक सञ्जालमा ‘खेताला’ लगाएर सिँगौरी खेल्नुभन्दा यसरी औपचारिक शुभकामना साटासाट गर्नु फिल्म क्षेत्रको स्वास्थ्यका लागि पक्कै नराम्रो होइन।

तर, दर्शक र सञ्चारमाध्यमले एउटा कुरा बिर्सन हुँदैन- फिल्मका ‘स्टार’ र ‘मेकर’हरूको मित्रता र शत्रुता केवल रिलिज क्यालेन्डरको मितिसम्म मात्र टिकेको हुन्छ!

असोज २१, २०८३ बुधबार १०:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।