बक्स अफिसमा कुन फिल्मको कमाइ कति ?
काठमाडौं : नेपाली फिल्म कुन हिट भयो, कुन फ्लप भन्ने विषयको मापन चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले गर्छ। पछिल्लो समय निर्माण हुने अधिकांश नेपाली फिल्मको लगानी डेढ करोड रुपैयाँभन्दा माथि हुने गरेको छ। उक्त लगानी उठाउन बक्स अफिसमा औसत ४ करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ।
गत असोज ९ गतेबाट प्रदर्शनमा आएका तीन फिल्म हुन्- ‘आचार्य’, ‘बा एक योद्धा’ र ‘जदौ’। तीन फिल्ममध्ये ‘आचार्य’ र ‘बाः एक योद्धा’को व्यापारको तुलनामा नीति शाह र प्रभात पाल ठकुरी अभिनीत ‘जदौ’ असाध्यै कमजोर देखियो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार, निखिल उप्रेतीको अभिनय तथा निर्देशकीय फिल्म ‘आचार्य’ले एक करोड ५६ लाख ग्रस कलेक्सन गरेको छ। यो १० दिनको व्यापार हो। यो अवधिभर यो फिल्मलाई ५४ हजार १०६ ले हेरेका छन्। एकजनरामा निर्माण भएको यस फिल्ममा निखिलसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायतको अभिनय छ।
‘बा : एक योद्धा’को ‘आचार्य’भन्दा ३६ लाख बढी कमाई
दिव्यदेव पन्तको मुख्य भूमिकामा रहेको फिल्म ‘बाः एक योद्धा’ बक्स अफिसमा व्यापार करिब २ करोड नजिक छ। बक्स अफिस रिपोर्टका अनुसार यस फिल्मले १० दिनमा १ करोड ९३ लाख कलेक्सन गरेको छ। फिल्मलाई ६५ हजार ५६० जनाले हेरेका छन्। एउटा बुबाले आफ्ना सन्तानको खुसीका लागि बस्दै आएको पुर्खौली सम्पत्ति बेचेर, आफू शहरको एक कोठामा पुगेको कथालाई फिल्मको पर्दामा उठाएको छ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा दिव्यदेवका साथमा झरना थापा, सुहाना थापा मुख्य भूमिका रहेको छ। यस फिल्ममा नै पहिलो पटक आमाछोरी झरना थापा र सुहाना थापाले स्क्रिन सेयर गरेका हुन्। फिल्मलाई अमेरिकन निवासी वसन्त लम्सालले लगानी गरेका छन्। यसअघि उनको लगानीमा ‘कर्मा’निर्माण भएको थियो। जुन फिल्म पनि फ्लप बन्यो।
त्यही दिन रिलिज भएको नीति शाह अभिनीत फिल्म ‘जदौ’ हेर्ने दर्शक तीन हजार ८६७ जना मात्रै भएका छन्। देशैभरका हलमा हेर्ने दर्शक अरूको तुलनामा निकै कम हो। यस टिकटबाट घरेलु बक्स अफिसमा १३ लाख ९८ हजार ७१५ जम्मा भएको छ।
यस फिल्ममा नीति र प्रभातपालका अलावा मुकुन भुषाल, ऋचा शर्मा, विनोद न्यौपाने लगायतको अभिनय रहेको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको यो फिल्ममा जातीय विभेदका कारण प्रेमिल जोडीको छुटामारी भएको छ। जहाँ जातकै कारण पारिवारिक द्वन्द्वमा फिल्मको कथा सकिन्छ।
पुराना फिल्मका अझैँ हलमा रजगज
भदौ १२ गतेबाट हलमा लागेको फिल्म ‘पार्वती’ले अढाई करोड पनि कलेक्सन गर्न सकेको छैन। तर हलमा भने अझैँ चलिरहेको छ। आइतबार रातीसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा २ करोड २९ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। यो अवधिमा फिल्म ८१ हजार ५९२ जना दर्शकले हेरेका छन्। एक महिनाभन्दा लामो समय हलमा चल्दा पनि यो फिल्मले लगानी हलबाट उठाउन सकेको छैन।
नीता ढुङ्गानाको कथा, अभिनय तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा उनका अलावा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारी लगायतले अभिनय गरेका छन्।
भदौ १९ बाट हलमा प्रदर्शनरत फिल्म ‘एलिफेन्ट्स इन द फग’को अवस्था पनि नाजुक नै छ। अहिलेसम्म यो फिल्म हलबाट १ करोड २७ लाख ८३ हजार ०६५ ग्रस कलेक्सन गरेको छ। ३६ हजार २० जनाले हेरेको यो फिल्ममा जङ्गली हात्तीको आतङ्कबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको कथा हेर्न पाइन्छ। फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ।
यता असोज २ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगे दाउ२’ फ्लपकै लाइनमा दौडिएको छ। यो पहिलो पार्ट ‘झिँगे दाउ’भन्दा निकै कमजोर अवस्थामा अगाडि बढेको छ। फिल्मले हिजोसम्म ४७ हजार ९५८ जनाले हेरेका छन्। जसबाट बक्स अफिसमा १ करोड ४५ लाख रुपैयाँ व्यापार देखिन्छ।
फिल्ममा दुई करोडमाथि कै लगानी लागेको खण्डमा पनि यो फिल्मको व्यापार अझै ४ करोडमाथिको गर्नुपर्ने हुन्छ। फिल्ममा केकी अधिकारी, महेश त्रिपाठी, कुशल विष्टका अलावा आर्यन सिग्देलको पनि अभिनय छ। यस फिल्मका निर्माता ज्ञानेन्द्र देउजा हुन। यसअघि उनको निर्देशनमा बनेको फिल्म ‘उपहार’बाट पनि उनलाई ४० लाख हाराहारी घाटा लागेको थियो। यस फिल्मबाट उनले त्यो घाटा भरपाई गर्ने मुडमा रहेका निर्देशक देउजाको सपना अधुरै रहने देखिन्छ। यस फिल्मका गीतसंगीतले भने निकै चर्चा पाएको थियो।
दयाको ‘पेन्सन पट्टा’को ९ करोड कट्दा कुलब्वायको ‘बेहुली’ ३ करोडभन्दा एक लाखले कम
बोर्डको रिपोर्टअनुसार गत भदौ २६ गतेबाट एकसाथ दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ रिलिज भए। जसमा हिजो आइतबारसम्म दयाहाङ राई अभिनीत ‘पेन्सन पट्टा’ को व्यापार ९ करोड १३ लाख पुगेको छ। अहिलेसम्म यो फिल्मलाई तीन लाख २१ हजार ३६२ जना दर्शकले हेरेका छन्। यो कलेक्सन प्रदर्शनको २४ दिनसम्मको हो।
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ मुख्य भूमिकामा छन्। साथै विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र स्वर्गीय सुनिल थापाको अभिनय रहेको छ। यसमा सुनिल थापा दयाको मामाको भूमिकामा छन्।
डेढ करोड हाराहारीमा निर्माण भएको यस फिल्मको कमाइले निर्देशक गुरुङ आफूले नसोचेको व्यापार भइरहेको भन्दै आएका छन्। यो फिल्मको प्रचारप्रसारका लागि पैसा नभएर निर्देशक गुरुङ पोखरामा नै घुमिरहेका थिए।
त्यसैगरि, प्रचारप्रसारमा व्यापक पारिएको र सोही दिनबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली’को कलेक्सन भने तीन करोड पुगेको छैन। घरेलु बक्स अफिस रिपोर्टका अनुसार हिजो रातिसम्म यो फिल्मले देशैभरका हलबाट दुई करोड ९९ लाख १३ हजार ८२४ कलेक्सन गरेको छ।
एक करोड ६ हजार ४५९ टिकट बिक्रीबाट उक्त रकम कलेक्सन भएको हो। यो फिल्ममा पहिलो पटक चर्चित संगीतकार अर्जुन पोखरेलले लगानी गरेका हुन्। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखनमा निर्माण भएको यो फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ मुख्य भूमिकामा छन्। यो फिल्मको लगानी २ करोड नै हिसाब गर्ने हो भने अझैँ तीन करोड बक्स अफिसमा कलेक्सन गर्नुपर्ने हुन्छ। त्यस कारण अहिलेसम्म यो फिल्मले फ्लपकै बाटोमा दौडेको छ।
अर्को साउन १ गतेबाट हलमा लागेको फिल्म ‘गौँथली’ले प्रदर्शनको ७६ दिन पार गर्दै २६ करोड एक लाखको व्यापार गरेको छ। डाक्टर कपिल रिजालको निर्देशनमा बनेको यो फिल्ममा सिम्रन पन्त, अरुण क्षेत्री, प्रकाश घिमिरे लगायतको अभिनय छ। साथै यो फिल्मलाई निर्देशक रिजाल र सुमन गिरीले निर्माण गरेका हुन्।
असोज १९, २०८३ सोमबार २१:४७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।