फुलपातीको हुलमुल छल्दै कात्तिक ६ मा पुग्यो ‘कबड्डी ५’, निर्देशक भन्छन्- ‘घमण्ड गरेर हुन्न, डर लागेकै हो’

फुलपातीको हुलमुल छल्दै कात्तिक ६ मा पुग्यो ‘कबड्डी ५’, निर्देशक भन्छन्- ‘घमण्ड गरेर हुन्न, डर लागेकै हो’

काठमाडौं : दशैंको फूलपातीमा रिलिज हुने पक्कापक्कीजस्तै मानिएको नेपाली सिनेमाको सफल ब्रान्ड ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ अन्ततः बक्स अफिस भिडन्तबाट पछि हटेको छ।

निर्माण पक्षले दशैं लक्षित गर्दै सम्पूर्ण काम सकाए पनि फिल्मको रिलिज एक हप्ता पछाडि धकेल्दै कात्तिक ६ गते (विजयादशमीको दुई दिनपछि) पुर्याइएको छ।

फूलपातीमा ‘छ माया छपक्कै २’, ‘आ बाट आमा २’ र ‘१२ गाउँ’ जस्ता प्रतीक्षित र स्थापित सिनेमाहरू एकसाथ आउने भएपछि ‘कबड्डी ५’ ले आफ्नो मिति सारेको हो।

नेपाली फिल्म क्षेत्रमा रिलिज मिति सार्दा प्रायः निर्माता-निर्देशकहरू प्राविधिक कारण देखाउँदै पन्छिने गर्छन्। तर, ‘कबड्डी’ का निर्देशक तथा निर्माता रामबाबु गुरुङले भने अन्य फिल्मको बहाव र बक्स अफिस भिडन्तको ‘डर’कै कारण आफू पछि सरेको खुला रूपमा स्वीकार गरेका छन्।

‘आफ्नो बजार छ, दर्शक छन् भन्दै घमण्ड गर्नुहुँदैन,’ मिडियाकर्मीसँग खुलेर प्रस्तुत भएका निर्देशक गुरुङले भने, ‘फूलपातीमा आउने तीनवटै फिल्म आफैँमा स्थापित र दर्शकले अत्यधिक रुचाएका सिरिज हुन्। ती सिनेमाहरूको बलियो बहावले ठेल्छ कि भन्ने डर हामीलाई भएकै हो। त्यसैले पछाडि यसो टेक्ने ठाउँ पाइन्छ कि भन्ने आशामा एक हप्ता पछि सरेका हौँ।’

‘रामले नआँटेको भए म आफैँ आँट्थेँ’
‘कबड्डी ४’ लाई ‘द फाइनल म्याच’ भन्दै निर्देशक गुरुङले यसअघि नै यो शृङ्खलाको अन्त्य भएको घोषणा गरेका थिए। तर, दर्शकको तीव्र मागकै कारण पाँचौँ भाग जन्माउनुपरेको निर्माण टिमको भनाइ छ।

फिल्मका मुख्य अभिनेता दयाहाङ राईले भने निर्देशक गुरुङले पाँचौँ भाग नबनाएको भए आफू स्वयंले बनाउने सोच बनाएको खुलाए। दयाहाङले भने, ‘कथालाई अझै परसम्म तन्काउन सकिने ठाउँ थियो। यदि रामले नआँटेको भए, म आफैँ निर्माणको आँट गर्ने तयारीमा थिएँ।’

‘शान्ति मिस’ को खोजी र सरप्राइज
फिल्मको टिजर सार्वजनिक भएपछि अघिल्लो सिजनकी मुख्य अभिनेत्री ‘शान्ति मिस’ अर्थात् मिरुना मगर नदेखिएपछि सामाजिक सञ्जालमा दर्शकले उनको उपस्थितिबारे खुबै खोजी गरिरहेका छन्।

निर्माण टिमले भने दर्शकलाई निराश नहुन आग्रह गरेको छ। मिरुना फिल्मबाट नहटेको र दर्शकलाई थिएटरमै ‘सरप्राइज’ दिनका लागि प्रचारमा गोप्य राखिएको निर्माण पक्षले प्रस्ट पारेको छ।

फिल्ममा विशेष भूमिकामा देखिन लागेका भर्सटाइल अभिनेता विपिन कार्कीले ‘कबड्डी ५’ मा आफूले एक पैसा पनि पारिश्रमिक नलिई काम गरेको दाबी गरेर चर्चा बटुलेका छन्।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले यो फिल्मबाट पैसा नलिई खेलेको हुँ। दाइ (रामबाबु) ले पछि दिनुभयो भने प्रसाद ग्रहण गर्ने हो, म त भक्त हुँ।’

यस विषयमा अभिनेता दयाहाङ राईले पनि कहिलेकाहीँ पैसाभन्दा टिम र कथा महत्त्वपूर्ण हुने धारणा राखे।

‘कलाकारलाई लोभ त हुन्छ नै, तर आफूलाई स्क्रिप्ट र मेकरको नियत मन पर्यो भने पारिश्रमिक पहिलो सर्त बन्दैन’, दयाहाङले भने।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्मित यस फिल्ममा दयाहाङ, विपिन र मिरुनाका साथै विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, कमलमणि नेपाल, शिशिर बाङ्देललगायतको अभिनय छ।

निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ फिल्मका निर्माता हुन् भने कार्यकारी निर्माता सागर राज हुन्।

असोज १९, २०८३ सोमबार १४:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।