प्रदर्शनअघि काठमाडौंमा ‘अक्षरा’को साइकल र्याली
काठमाडौं : असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘अक्षरा’को प्रचारप्रसारलाई तीव्र पारिएको छ।
फिल्मको प्रचारका लागि आइतबार कीर्तिपुरदेखि कपनस्थित क्लब मण्डलासम्म २५० भन्दा बढी साइकल यात्रीहरूको सहभागितामा भव्य र्याली निकालिएको छ।
फिल्मको टिसर्ट लगाएर निकालिएको र्यालीमा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउतलगायत निर्माण टिमको प्रत्यक्ष सहभागिता थियो।
प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मको माहोल बनाउन साइकल र्याली आयोजना गरिएको निर्देशक विनयराज पौडेलले जानकारी दिए।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल (U)’ सर्टिफिकेट पाएको यो फिल्म २ घण्टा १४ मिनेट लामो छ।
सुख पाउने आशमा चिन्दै नचिनेको धनी केटासँग छोरीको विवाह गराइदिएपछि पारिवारिक सम्बन्धमा आउने उतारचढाव र समस्याको कथामा फिल्म आधारित छ।
क्षित बाबु प्रोडक्सनको ब्यानरमा उग्रसेन र सुग्रसेन ढुङ्गानाले निर्माण गरेको यस फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारीलगायतका कलाकारको मुख्य अभिनय छ।
फिल्मको पटकथा अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन्।
असोज १९, २०८३ सोमबार ०९:५५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।