‘दर्शक बोक्ने’ विकृतिले थला पर्‍यो फिल्म बजार

‘दर्शक बोक्ने’ विकृतिले थला पर्‍यो फिल्म बजार

काठमाडौं : सामाजिक सञ्जालको भित्तो चियाउने हो भने नेपाली फिल्म क्षेत्र यतिबेला इतिहासकै स्वर्णिम युगमा छ झैँ लाग्छ।

युट्युबमा आउने ‘हल रिपोर्ट’ हेर्दा दर्शकको ओइरो लागेको देखिन्छ, मानौँ प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक नै गुमाएका छैनन्। कतिपय निर्माता त हल भरिएको भ्रम छर्न आफैँ १२-१५ लाखका टिकट काटेर सिट ‘होल्ड’ गर्न तँछाडमँछाड गरिरहेका छन्।

तर, सामाजिक सञ्जालबाट बाहिर निस्केर चलचित्र विकास बोर्डको केन्द्रीय ‘बक्स अफिस’ रिपोर्ट हेर्ने हो भने प्रदर्शनमा आएका अधिकांश फिल्महरू सुपरफ्लप भएका छन्।

भदौयता रिलिज भएका दर्जन हाराहारी फिल्ममध्ये एउटाबाहेक सबै नराम्ररी पछारिएका छन्। कुनै फिल्मको त देशभर जम्मा ९२ वटा मात्रै टिकट बिक्री भएको लज्जास्पद रेकर्ड पनि छ।

ठेकेदार लगाएर सिट होल्ड, ‘दर्शक बोक्ने’ घातक बानी
निर्माताहरूले दर्शक झुक्क्याउन आफैँ थोकमा टिकट किन्ने गरेको कुरा अब गोप्य रहेन। आइएनआइ सिनेमाजको चेन लिएर हल चलाइरहेका  अभिनेता तथा निर्माता दीपकराज गिरी हलमा यस्तो विकृति देखिएको स्वीकार गर्छन्।

“मैले सुनेको पनि त्यही हो। हलका स्टाफहरूले पनि त्यस्ता मान्छेहरू आउने र एउटै नम्बरबाट थोकमा टिकट बुक हुने गरेको सुनाउँछन्,” गिरी भन्छन्, “ठेकेदारहरूले नै मान्छे ओसारेर हलमा ल्याउने गरेको पाइन्छ।”

गिरीका अनुसार यस्तो प्रवृित्तले वास्तविक दर्शकलाई हलसम्म आउनै अल्छी बनाइदिएको छ।

उनी एउटा रोचक उदाहरण दिन्छन्- “तपाईं चाँगुनारायणको उकालो दिनहुँ हिँडेर चढिरहनुहुन्थ्यो। कुनै दिन कसैले ‘म लगिदिन्छु’ भनेर दुई-तीन दिन बोकिदियो भने अब तपाईं कसैले बोक्ला कि भनेर कुरेर बस्न थाल्नुहुन्छ, हिँड्न छाड्नुहुन्छ। अहिले फिल्ममा त्यस्तै भयो। दर्शकलाई बोकेर ल्याउन थालेपछि बोकिने बानी लाग्यो।”

आफ्नो आगामी फिल्म ‘छ माया छपक्कै २’ मा यो विकृति नदोहोरिने दाबी गर्दै उनी भन्छन्, “हाम्रो फिल्मको टिकट कसैको घरमा पुग्दैन। दर्शकले आफैँ टिकट काटेर हेर्नुपर्छ भन्ने मान्यता हामी राख्छौँ।”

यता, नियमनकारी निकाय चलचित्र विकास बोर्ड भने यसबारे बेखबरजस्तै छ।

निर्माता आफैँले टिकट किनेर हल ‘अकुपाइ’ गरे/नगरेको प्रणालीले हेर्छ कि हेर्दैन भन्ने प्रश्नमा बोर्डका बक्स अफिस अधिकृत प्रविन पाण्डे भन्छन्, “बोर्डबाट त्यस्तो केही हेरिएको छैन, किनकि नियममै यो हेर्नु भनेर तोकिएको छैन। हामीले त कति टिकट बिक्री भयो र कति कलेक्सन आयो भन्ने मात्र हेर्ने हो। अनुगमन गर्दा निर्माताले कति टिकट काटे भन्ने कुरा नियममा छैन।”

‘पेन्सन पट्टा’ बाहेक सबैको हरिबिजोग
भदौ महिनामा आधा दर्जन फिल्म हलमा ओर्लिए। भदौ ५ मै प्रियंका कार्कीले निर्माण गरेको ‘मास्टर्नी’ आयो।

घोषणाकै दिन ‘ब्लकबस्टर’ भनिएको यो फिल्मले एक साता पनि हलमा टिक्न सकेन। १ करोडमाथिको बजेट भनिएको फिल्मले जम्मा ४० लाख ग्रस कलेक्सन गर्यो भने निर्माताको हातमा करिब १४ लाख मात्रै पर्छ। घोषणाकै दिन ‘ब्लकबस्टर’ भनिएको फिल्मको नतिजा भयो ‘सुपरफ्लप’!

अभिनय र निर्माणपछि निर्देशनमा डेब्यु गरेकी नीता ढुङ्गानाको ‘पार्वती’ पनि बक्स अफिसको परीक्षामा पास हुन सकेन।

डेढ करोडमा बनेको फिल्मले २ करोड २८ लाख ५५ हजार ग्रस उठायो। तर, लगानी सुरक्षित गर्न हलबाटै ४ करोड कटाउनुपर्ने गणितले यसलाई फ्लपको सूचीमा धकेल्यो। भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले पनि यसको व्यापारमा धक्का पुर्यायो।

यस्तै, भदौ १९ मा सुटुक्क रिलिज भएको ‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख ग्रस गर्यो। चर्चित कान्स फिल्म फेस्टिभलसम्म पुगेको, अविनाश विक्रम शाहको निर्देशन र पुष्पा थिङको अभिनय रहेको यो फिल्मले तारिफ त पायो, तर बक्स अफिसमा व्यापार पाएन।

उता संगीतकार अर्जुन पोखरेलले डेढ करोडमा बनाएको ‘बेहुली’ले २ करोड ९६ लाख ३६ हजारको ग्रस व्यापार गर्यो। तर, लगानी उठाउन अझै १ करोडमाथिको व्यापार गर्नुपर्ने भएकाले बक्स अफिस रिपोर्टमा यो पनि घाटाकै व्यापारमा दरियो।

यी सबै निराशाका बीच भदौ २६ मा आएको अभिनेता तथा निर्देशक माओत्से गुरुङको ‘पेन्सन पट्टा’लाई भने दर्शकले राम्रै साथ दिइरहेका छन्।

२ करोडको लगानीमा बनेको यो फिल्मले गत आइतबारसम्म ७ करोड १ लाख रुपैयाँ ग्रस कलेक्सन गर्यो। निर्माताको भागमा पर्ने ३५ प्रतिशत सेयर मात्रको हिसाब गर्दा पनि फिल्मले करिब ४५ लाख रुपैयाँ खुद नाफा कमाइसकेको छ। भदौको बक्स अफिसमा लाज जोगाउने एक्लो सारथि यही फिल्म बन्यो।

९२ वटा मात्रै टिकट !
असोज २ गते एकसाथ आएका तीन फिल्मको हविगत त झनै कहालीलाग्दो रह्यो।

ज्ञानेन्द्र देउजाले करिब ४ करोडको भारी बजेट खन्याएको भनिएको ‘झिँगे दाउ २’ ले १० दिनमा जम्मा १ करोड ३४ लाख ८३ हजार मात्रै बटुल्यो। लगानी उठाउन १० करोडमाथिको व्यापार चाहिने यो फिल्मबाट निर्माता-निर्देशक नराम्ररी पछारिएका छन्। यद्यपि केही हलमा अझै यसको शो कायमै छ।

सोही दिन आएको राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ले त हलमा पानीसमेत भन्न पाएन। हाँस्यकलाकार जितु नेपालको ठूलो भरोसा रहेको यो फिल्म १० दिनमा ५ लाख ७८ हजार रुपैयाँको टिठलाग्दो कलेक्सनमा समेटिँदै सुपरफ्लप भयो।

तर, असोज २ कै सबैभन्दा ठूलो दुर्घटना राजु अधिकारी निर्देशित फिल्म ‘माया बस्छ कि के हो’ मा देखियो। बक्स अफिस रिपोर्ट अनुसार देशभर यसका जम्मा ९२ वटा मात्रै टिकट बिक्री भए र कुल कलेक्सन रह्यो- २३ हजार ६६० रुपैयाँ! यो फिल्मले अहिलेसम्म यस वर्षकै सबैभन्दा कमजोर व्यापार गर्ने कीर्तिमान बनाउन पुग्यो।

‘स्टारडम’ होइन, कथा बलियो चाहिन्छ : माओत्से गुरुङ
सबै ठूला ब्यानरका फिल्म फ्लप भइरहँदा दर्शकले ‘पेन्सन पट्टा’ किन रुचाए त?

लेखक तथा निर्देशक माओत्से गुरुङको प्रस्ट जवाफ छ- “फिल्मका लागि स्टारडमभन्दा कथा नै बलियो हुनुपर्दो रहेछ। दर्शकलाई हलसम्म तान्न स्क्रिप्ट र पटकथा नै बलियो चाहिन्छ भन्ने कुरा पेन्सन पट्टाले पुष्टि गर्यो।”

गुरुङ थप्छन्, “सिनेमा दर्शकका लागि बन्नुपर्छ। अहिले बिग बजेट भनिएका सिनेमाको तुलनामा हाम्रो फिल्ममा दर्शकको रुचि बढ्नुको कारण सामान्य नेपाली परिवारको सुख–दुःख, हाँसो–खुसीका भोगाइहरू हुन्। आफ्नो कथा देखेपछि दर्शक आफैँ हलसम्म आउँदा रहेछन्।”

बोर्डका अधिकृत पाण्डे पनि व्यापार कमजोर हुनुमा कन्टेन्ट र धेरै फिल्म एकैपटक जुध्नुलाई मुख्य कारण मान्छन्।

“फिल्मको कन्टेन्टअनुसार नै व्यापार हुने हो। धेरै फिल्म एकैपटक आउँदा दर्शक पनि बाँडिए”, पाण्डेले विश्लेषण गरे।

दशैं सिक्वेलकै कब्जा!
अबको सम्पूर्ण ध्यान दशैंको फूलपातीमा केन्द्रित छ, जहाँ तीन ठूला सिक्वेल आमनेसामने हुँदैछन्।

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ लिएर दीपक-दीपाको टोली आउँदैछ। यो टिमको इतिहास गजब छ- बजारमा समीक्षा जस्तोसुकै आओस्, उनीहरूका फिल्मले घाटा खान जानेकै छैनन्, नाफाकै वर्षा हुन्छ।

अर्कोतर्फ, विराज भट्ट ‘१२ गाउँ २’ लिएर भिडन्तमा छन्। उनको पछिल्लो फिल्म ‘बलिदान’को व्यापार सुस्त रहेकाले यसपटक दबाब बढी छ, यद्यपि ‘१२ गाउँ’को पहिलो पार्ट ब्लकबस्टर थियो।

उता, लामो समयपछि पर्दामा फर्किएकी विपना थापा र पल शाह अभिनित ‘आ बाट आमा २’ को चर्चा पनि बजारमा उत्तिकै चुलिएको छ। यसको व्यापारिक आँकडा र दर्शकको प्रतिक्रिया कस्तो रहला, त्यो भने रिलिजपछि नै प्रस्ट हुनेछ।

अघिल्ला भागहरूको ऐतिहासिक सफलतापछि हौसिएर सिक्वेलमा होमिएका यी तीनवटै महारथीका लागि यो दशैं प्रतिष्ठाको लडाइँ बन्ने निश्चित छ।

असोज १७, २०८३ शनिबार ११:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।