नेपालको पहिलो फिल्म ‘आमा’ अब युट्युबमै हेर्न पाइने

नेपालको पहिलो फिल्म ‘आमा’ अब युट्युबमै हेर्न पाइने

काठमाडौं : नेपाली चलचित्र इतिहासको प्रस्थानविन्दु मानिने पहिलो कथानक चलचित्र ‘आमा’ अब युट्युबमा हेर्न पाइने भएको छ।

दोस्रो ‘राष्ट्रिय चलचित्र दिवस’को अवसर पारेर चलचित्र विकास बोर्डले डिजिटाइजेसन गरी सुरक्षित राखेको ऐतिहासिक चलचित्र ‘आमा’लाई आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

विसं. २०२१ सालमा तत्कालीन ‘शाही नेपाल चलचित्र संस्थान’द्वारा निर्मित यो चलचित्र नेपाली सिनेमाको जग मानिन्छ।

पुरानो प्रविधिमा बनेको यस ऐतिहासिक चलचित्रलाई बोर्डले उच्च गुणस्तरमा डिजिटाइजेसन गरेर नयाँ पुस्ताका चलचित्रप्रेमी तथा अध्येताहरूका लागि सहजै हेर्न मिल्ने गरी डिजिटल प्लेटफर्ममा ल्याएको हो।

हालैको बाढीपहिरो र प्राकृतिक विपद्पछिको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको राष्ट्रिय चलचित्र दिवसलाई बोर्डले साधारण तरिकाले मनाएको छ।

दिवसकै सन्दर्भमा देशभरका हलहरूमा दिवसको ब्यानर राख्न तथा नेपाली चलचित्रको प्रदर्शनमा विशेष सहुलियत दिन समेत बोर्डले निर्देशन दिएको थियो।

पहिलो वर्ष असोज १ गते मनाइएको यो दिवस अबदेखि हरेक असोज १५ गते मनाइने भएको छ।

चलचित्र दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले शुभकामना सन्देश जारी गर्दै नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थापनका लागि नीतिगत तथा कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

यस्तै, बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्माले अभाव र चुनौतीका बीच नेपाली चलचित्र क्षेत्रको बलियो जग बसाल्ने अग्रजहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनमा हातेमालो गर्न सम्पूर्ण चलचित्रकर्मीहरूलाई अपिल समेत गरेका छन्।

असोज १७, २०८३ शनिबार ११:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।