दशैँमा छैनन् नयाँ फिल्म, बक्स अफिसमा पुरानैका ‘सिक्वेल’ भिड्ने
काठमाडौं : यस वर्षको दशैंमा आधा दर्जन नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने चर्चा भए पनि रिलिज मिति नजिकिँदै गर्दा अधिकांश फिल्म पछि हटे।
अनमोल केसी अभिनित ‘बाटुलो जुन’ र अशोक शर्माको ‘डबल ट्रिपल’ ले प्रदर्शन स्थगन गरेपछि दशैंको बक्स अफिसमा पूर्ण रूपमा पूर्ववत् हिट फिल्मका ‘सिक्वेल’हरू नै छाउने भएका छन्।
असोज ३० गते दुई ठूला सिक्वेल एकसाथ हलमा लाग्दै छन्- चन्द्र पन्त निर्देशित ‘आमा २’ र विराज भट्टको ‘१२ गाउँ २’।
पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित ‘आमा २’ मा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, प्रदीप रावत र सविन श्रेष्ठ लगायतको अभिनय छ।
अघिल्लो भागमा देखिएका उषा उप्रेती र सिम्रन पन्त यसमा दोहोरिएका छैनन्। यसको पहिलो भागले बक्स अफिसमा १३ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको थियो।
सोही दिन भिड्न आइपुग्ने विराज भट्टको एक्सन-ड्रामा ‘१२ गाउँ २’ प्रति दर्शकको ठूलो चासो छ। विराज आफैँ मुख्य भूमिकामा रहेको यस फिल्ममार्फत उनले काफिया शाहीलाई डेब्यू गराएका छन्।
समीर भट्ट र खुसी कार्कीको समेत अभिनय रहेको यस फिल्मको अघिल्लो भागले झण्डै २० करोडको व्यापार गरेको थियो।
फूलपातीमा ‘छ माया छपक्कै २’, टीकाको दुई दिनपछि ‘कबड्डी ५’
यी दुई फिल्म रिलिज भएको भोलिपल्ट अर्थात् फूलपातीको दिन पारेर दीपेन्द्र लामा निर्देशित कमेडी-ड्रामा ‘छ माया छपक्कै २’ प्रदर्शनमा आउनेछ।
रोहित अधिकारीको निर्माण तथा दीपकराज गिरी र दीपाश्री निरौलाको ब्राण्ड रहेको यो फिल्ममा दीपक-दीपासँगै सनिशा भट्टराई, रिहान गिरी, कर्मा शाक्य र निर्मल शर्माको अभिनय छ। यसको पहिलो भागले करिब १० करोडको व्यापार गरेको थियो।
कात्तिक ६ गते अर्थात विजयादशमीको दुई दिनपछि नेपाली फिल्म इतिहासकै सफल ब्राण्ड ‘कबड्डी’ को पाँचौं शृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ रिलिज हुँदैछ।
रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्ममा काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) को चर्चित त्रयसहित विपिन कार्की लगायत कलाकारहरूको जम्बो टोली छ।
असोज १५, २०८३ बिहीबार ११:३६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।