भक्तपुरमा ‘म्युजिक जात्रा–ख्वपः’ हुँदै, कुमा सागर ब्याण्डको कन्सर्टमा दर्शकलाई फ्री इन्ट्री
काठमाडौं ः युवापुस्तामाझ चर्चामा रहेका गायक कुमा सागरको ब्याण्डले भक्तपुरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ।
आगामी मंसिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा पहिलो पटक हुन लागेको ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल 'म्युजिक जात्रा–ख्वपः' मा उक्त ब्याण्डले प्रस्तुति दिन लागेको हो। दर्शकहरूका लागि यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछ।
बुधबार काठमाडौंस्थित क्लब बागमतीमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको मुख्य आकर्षणको रूपमा ‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ रहने जानकारी दिएको हो। कुमा सागरका साथै चर्चित ब्याण्ड 'मुक्ति एण्ड रिभाइभल' र 'निभाः डंगोल एण्ड चबाही दबु'को समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ।
लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमले संगीतका माध्यमबाट भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने लक्ष्य राखेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै भक्तपुरको मौलिक संस्कृति, कला, परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय परिकारका खानाका परिकार तथा जीवनशैलीसँग सम्बन्धित विभिन्न स्टलहरू रहने आयोजकले जनाएको छ।
जात्रामा राखिएका स्टलहरू र व्यक्तिगत दान (डोनेसन) बाट संकलन हुने रकमको ५० प्रतिशत हिस्सा भक्तपुरमा रहेको 'समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)' लाई प्रदान गरिने आयोजकले बताएको छ।
असोज १४, २०८३ बुधबार १८:२१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।