‘युनिभर्सल’ सर्टिफिकेट खल्तीमा राखेर चुपचाप ‘अक्षरा’ टिम
काठमाडौं : गत भदौ २६ गते रिलिज हुने भन्दै गर्दा सामाजिक सञ्जालदेखि मिडियासम्म खुबै तातेको फिल्म ‘अक्षरा’ यतिबेला भने चिसो पानी खन्याएजस्तै शान्त छ।
भदौ १० गते आएको बाढीपहिरोको कारण देखाउँदै प्रदर्शन मिति सारेर आगामी शुक्रबार पुर्याइएको यो फिल्मको प्रचारप्रसार हेर्दा लाग्छ- निर्माण टिम नै हाइ काढेर बसेको छ।
रिलिज मिति टाउकोमा आइपुग्दा न सामाजिक सञ्जालमा चर्चा देखिन्छ, न त निर्माण टिमको कुनै दौडधुप नै! सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट खल्तीमा हालेर बसेको निर्माण टिम अहिले चुपचाप छ।
सबैभन्दा अचम्मको कुरा त नवनायिका न्यान्सी खड्काको मौनता हो। सुशील सिटौला र रिस्ता अधिकारीका लागि त यो नियमित फिल्म जस्तै होला, तर न्यान्सी ‘अक्षरा’मार्फत पहिलो पटक मुख्य भूमिकामा देखिँदैछिन्।
‘१२ गाउँ’बाट नोटिस भएकी र अब अनमोल केसीसँग ‘बाटुलो जुन’मा स्क्रिन सेयर गर्न लागेकी न्यान्सीले यो फिल्मलाई आफ्नो करिअरको टर्निङ प्वाइन्ट बनाउनुपर्ने थियो।
तर, न उनी प्रचारमा आक्रामक देखिएकी छन्, न निर्देशक विनयराज पौडेल र निर्माता उग्रसेन ढुङ्गानाले नै कुनै जाँगर चलाएका छन्।
यसैबीच, ‘अक्षरा’ले हलमा एक्लै राज गर्न भने पाउने छैन। योसँगै मल्टिनेसनल प्रोजेक्ट ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ प्रदर्शन हुँदैछ।
स्टार अभिनेता प्रदीप खड्काले अभिनय नगरे पनि उनकै लगानी र सहकार्य रहेको ‘टनेल’मा नेपालसँगै भुटान र भारतका निर्माताको लगानी छ। फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही र आना शर्मा लगायतका कलाकार छन्।
असोज १४, २०८३ बुधबार १४:२६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।