दशैंअघि दुबईमा गुञ्जिँदै नेपथ्य
काठमाडौं : दक्षिण कोरियाको सफल प्रस्तुतिपछि चर्चित नेपाली लोक-रक ब्यान्ड ‘नेपथ्य’ आगामी साता संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गुञ्जिने भएको छ।
आगामी अक्टोबर ४ आइतबार दुबईको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा नेपथ्यको भव्य कन्सर्ट आयोजना हुँदै छ। दुबईमा नेपथ्यको यो चौथो कन्सर्ट हो।
यसअघि आइस हकी खेलिने ‘अल नासेर लिजर ल्यान्ड’मा प्रस्तुति दिँदै आएको ब्यान्डले यसपटक दर्शकलाई उच्चस्तरीय साउन्ड र अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउन थप सुविधासम्पन्न नयाँ हल रोजेको हो।
दशैंको सँघारमा घरपरिवारबाट टाढा रहेका प्रवासी नेपालीहरूलाई घरको सम्झना मेटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको ब्यान्डको व्यवस्थापक संस्था ‘नेपालय’ले जनाएको छ।
कन्सर्टबारे बोल्दै ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘दुबईका दाजुभाइ, दिदीबहिनीका सामुन्ने प्रस्तुति दिन हामीले आवश्यक तयारी गरिसकेका छौँ। दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यो पटक हाम्रो प्राथमिकतामा छन्।’
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
असोज १४, २०८३ बुधबार ११:३२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।