‘पलेँटी’मा नीर शाह : गीत, संगीत र अग्रज सर्जकका अविस्मरणीय किस्सा

‘पलेँटी’मा नीर शाह : गीत, संगीत र अग्रज सर्जकका अविस्मरणीय किस्सा

काठमाडौं :​​​​​​ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गत शुक्रबार र शनिबार आयोजित लघु सांगीतिक शृङ्खला ‘पलेँटी’मा वरिष्ठ गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत भए।

संगीतकार आभासको संयोजनमा सम्पन्न कार्यक्रममा शाहका कालजयी शब्दहरू गुन्जिनुका साथै नेपाली संगीतका शिखर पुरुषहरूसँगका उनका दुर्लभ संस्मरणहरू प्रस्तुत गरिए।

कार्यक्रमलाई जीवन-दर्शन, रोमान्टिक र फिल्मी गरी तीन खण्डमा बाँडिएको थियो।

पलेँटीका गायकद्वय अभिज्ञा घिमिरे र रूपक चौधरीले ‘गहिराईमा डुब्दै नडुब’, ‘पर्खि बसेँ आउला भनी’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै’, ‘हिउँभन्दा चिसो’ र ‘को हो त्यो जसले मलाई मोहनी लगायो’ लगायतका प्रसिद्ध गीतहरू गाएर सुनाएका थिए।

गीत प्रस्तुतिका बीचमा मञ्चमा रहेका नीर शाहले विगतका रोचक र भावुक घटनाहरू बाँडे। नारायण गोपालसँगको जापान यात्राको सम्झना गर्दै उनले स्वरसम्राटले पत्नी पेमलाका लागि किनेको ‘पी’ अंकित सुनको लकेटको प्रसङ्ग सुनाए।

त्यस्तै, एक साँझ नारायण गोपालको घरमा अम्बर गुरुङ, अरुणा लामा र भूपी शेरचनसँगै बिहान ४ बजेसम्म एउटै गीत पालोपालो गाएर बिताएको ऐतिहासिक ‘महेफिल’को क्षण सुनाउँदा माहोल निकै भावुक बनेको थियो।

शाहले गायक दीप श्रेष्ठसँगको बाल्यकालदेखिको ‘सोम’ मित्रता, नातिकाजीको धुन सिर्जना क्षमता, प्रेमध्वज प्रधानको लजालु स्वभाव र अभिनेता डेनी डेन्जोङ्पाको आग्रहमा ‘हिउँभन्दा चिसो’ गीत रचना गर्दाको पृष्ठभूमिसमेत खुलाए।

आफ्ना रोमान्टिक गीतहरू हनिमुनको समयमा लेखिएको भन्दै शाहले ठट्यौली गर्दा दर्शकदीर्घा हाँसोमा डुबेको थियो। सांगीतिक प्रस्तुतिसँगै अग्रज सर्जकहरूको आत्मीय सम्झनाले सजिएको यसपटकको पलेँटी निकै रोमाञ्चक र नोस्टाल्जिक बनेको थियो।

असोज १४, २०८३ बुधबार ०७:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।