पाँच करोड कमाएको दाबी गरिएको फिल्म ‘बेहुली’ले बक्स अफिसमा छुन सकेन तीन करोडको आंकडा, अरू फिल्मको अवस्था कस्तो ?

पाँच करोड कमाएको दाबी गरिएको फिल्म ‘बेहुली’ले बक्स अफिसमा छुन सकेन तीन करोडको आंकडा, अरू फिल्मको अवस्था कस्तो ?

काठमाडौं : सामाजिक सञ्जाल टिकटकबाट ‘कुल ब्वाय’का नामले चर्चामा आएका पारस बम ठकुरी अभिनीत फिल्म ‘बेहुली’ले बक्स अफिसमा तीन करोड रुपैयाँको व्यापारिक आंकडा पार गर्न सकेको छैन। चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार आइतबारसम्म ‘बेहुली’ले दुई करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

तर, यता निर्माण पक्षले भने फिल्मले पाँच करोड रुपैयाँभन्दा माथिको व्यापार गरिसकेको दाबी गरेको छ। फिल्मका प्रस्तुतकर्ता तथा सङ्गीतकार अर्जुन पोखरेलले सामाजिक सञ्जालमार्फत फिल्म ‘बेहुली’ले आफ्नो लगानी सुरक्षित गरिसकेको जानकारी दिए।

उनले लेखेका छन्, "आज सोमबारसम्मको कलेक्सनलाई हेर्दा हाम्रो चलचित्र बेहुलीले घरेलुमा तीन करोडभन्दा बढीको कारोबार गरिसकेको छ। त्यस्तै ओभरसिज मार्केट, डिजिटल तथा ओटीटी राइटस्बाट दुई करोड सहित पाँच करोडभन्दा बढी कलेक्सन गर्न सफल भएको छ। यो साथ अनि सपोर्टको लागि भगवानरुपी दर्शकहरूलाई नमन।"

उनले फिल्मलाई सफल दाबी गरेता पनि घरेलु बक्स अफिसमा भने फिल्मको व्यापार कमजोर देखिएको छ। फिल्मको निर्माण, प्रचारप्रसार तथा प्रचार यात्रामा भएको खर्च हेर्दा दुई करोडभन्दा माथि लगानी देखिन्छ। लगानी सुरक्षित गर्न मात्र फिल्मले थप तीन करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ।

सोही दिन अर्थात् भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ले भने सात करोडमाथिको व्यापार गरेको छ। अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको आइतबार रातिसम्म सात करोड एक लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

गत असोज २ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगे दाउ २’को व्यापार दयनीय छ। यो फिल्मले १० दिनमा एक करोड ३४ लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्मलाई उनैले लगानी गरेका थिए। पहिलो फिल्मभन्दा सिक्वेलको व्यापारिक अवस्था निराशाजनक देखिन्छ।

सोही दिनबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘कार्की साइँला’ले पाँच लाख ७८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्मले हलमा पानी भन्न समेत पाएको देखिँदैन।
 
साथै असोज २ गते नै गुमनाम रूपमा प्रदर्शनमा आएको अर्को फिल्म ‘माया बस्छ कि के हो’ले २३ हजार ६६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। साथै यस फिल्मको ९२ वटा मात्रै टिकट बिक्री भएको बक्स अफिस रिपोर्टमा देखिन्छ। राजु अधिकारीको निर्देशकीय यो फिल्म यस वर्षकै कमजोर फिल्म बनेको देखियो।

गत भदौ १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ले एक करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो हेर्दा बक्स अफिसमा निकै कमजोर बनेको देखियो। यस फिल्मलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन्। अन्तर्राष्ट्रिय अवार्ड कान्समा छनोट भएको यो फिल्मलाई नेपाली दर्शकले चासो नै राखेको पाइँदैन। फिल्ममा पुष्पा थिङ मुख्य भूमिकामा छिन्।

नीता ढुङ्गानाको कथा, निर्देशन तथा अभिनयमा निर्माण भएको फिल्म ‘पार्वती’को पनि हरिबिजोग छ। गत असोज १२ गतेबाट हलमा प्रदर्शन भइरहेको यो फिल्मको दुई करोड २८ लाख रुपैयाँ मात्रै ग्रस कलेक्सन भएको छ। यो फिल्मको लगानी डेढ करोड हो भने अझैँ यो फिल्मले उतिकै मात्रामा ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ। बक्स अफिसमा यो फिल्म फ्लपको सूचिमा समावेश हुनेतिर लम्किएको छ। किनभने अघिल्लो बक्स अफिसको तुलनामा यस पटक करिब चार लाख मात्रै कलेक्सन थपिएको छ।
 
यता गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’पनि अझै प्रदर्शनरत छ। २६ करोड नजिक व्यापार गर्दै यो फिल्म यस वर्षकै ब्लकबस्टर बन्न सफल भयो। ‘गौँथली’ले २५ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन्।  

असोज १२, २०८३ सोमबार २३:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।