आचार्य : एक्सनको ह्याङले फिल्मभरि भ्वाङ
नेपाली चलचित्र उद्योगमा ‘एक्सन किङ’ को छवि बनाएका निखिल उप्रेतीले लामो अन्तरालपछि निर्देशन र अभिनयमा कमब्याक गरेको फिल्म हो- ‘आचार्य’।
‘भैरव’ जस्ता एक्सन प्रधान फिल्म दिएका निखिलबाट दर्शकले यसपटक केही फरक र उच्चस्तरको एक्सनको अपेक्षा गरेका थिए। तर, पर्दामा फर्किएका उनले फिल्म निर्माण, निर्देशन, कथा लेखन र मुख्य अभिनय जस्ता सबै जिम्मेवारी एक्लै बोक्दा फिल्म कताकता असन्तुलित हुन पुगेको छ।
कथासार,
फिल्मको कथा निकै सामान्य र परम्परागत छ। पशुपतिनाथ मन्दिर परिसरमा आचार्य शैलीमा बसेका एक हुल युवाहरूलाई उनीहरूको ‘एक बुल प्रोजेक्ट २०१५’ को सिलसिलामा नायक सन्दीप विश्वकर्मा अर्थात् ‘आचार्य’ (निखिल उप्रेती) ले आफ्ना विगतका घटनाहरू सुनाएबाट कथा अगाडि बढ्छ।
धनाढ्य व्यवसायी रमण राणाले आफ्ना साथीको कम्पनी हाइज्याक गरेर उनकी छोरी नीति राणालाई आफ्नै छोरी सरह हुर्काउँछन्। तर, सत्य थाहा पाएकी नीति आफ्नो बुबासँग टाढा रहन्छिन्। फेसबुकमार्फत भारतीय क्रिमिनल समिर कुमारसँग प्रेममा परेकी उनी विवाहको नाटकमा फसेर मुम्बई पुग्छिन्। छोरी हराएपछि विक्षिप्त बनेका रमणले धेरै प्रयास गर्दा पनि भेटाउन नसकेपछि आचार्यको इन्ट्री हुन्छ।
आचार्यले मुम्बई पुगेर कसरी नीतिलाई भारतीय समूहको चङ्गुलबाट उद्धार गर्छन् र नेपाल फर्काउँछन् भन्ने नै फिल्मको मुख्य प्लट हो।
सबल पक्ष
यो फिल्मको एकमात्र प्राण यसका एक्सन दृश्यहरू हुन्। निखिल उप्रेतीले एक्सनका दृश्यहरू राख्न कुनै कन्जुस्याइँ गरेका छैनन्। ज्यानको बाजी लगाएर हेलिकप्टरबाट हामफाल्ने, बाइक स्टन्टहरू गर्ने, र गुडिरहेको गाडीमाथि अर्को गाडी चढाउने दृश्यहरूले साउथ इन्डियन फिल्मका प्लट नै माथ दिए झैँ अनुभव हुन्छ।
पेट्रोल पम्प नजिकका दृश्यहरू, बाघबाट नीतिलाई बचाउने सिक्वेन्स, र हुलाकीको भेषमा खलनायकका हुलसँग गरिएको भीषण सङ्घर्षले दर्शकलाई केही क्षणका लागि थ्रिल प्रदान गर्छ।
निखिलले नेपाली भाषाको प्राथमिकता र हिन्दी कलाकारहरूलाई हिन्दीमै डब गराएर मौलिकता दिने प्रयास गरेका छन्। उनको नृत्यमा आएको परिपक्वता अर्को सकारात्मक पक्ष हो।
अब एक्सन फिल्ममा समावेश हुनुपर्ने सामान्य 'फिल्मी तत्त्व'बारे उल्लेख गरौँ अनि त्यसमा आचार्यको तत्त्व मिसाएर हेरौँ।
सफल एक्सन फिल्म निर्माण गर्नका लागि केवल भव्य स्टन्ट अनि काटमारका दृश्यहरू मात्रै पर्याप्त हुँदैनन्, त्यसका लागि सिनेमाटोग्राफिक र कथात्मक तत्त्व पनि चाहिन्छ नै।
एक्सन फिल्म भने पनि बलियो र तार्किक द्वन्द्व चाहिन्छ नै। नायक किन र कोसँग लडिरहेको छ भन्ने बलियो कारण दर्शकले अनुभव गर्न सक्नु पर्छ।
एक्सन फिल्म भए पनि त्यसका दृश्यहरूमा कथालाई अगाडि बढाउने क्षमता हुनु पर्छ। कथालाई नै ओझेलमा पार्ने द्वन्द्वको थुप्रोले मात्र सफल एक्सन फिल्म बन्न सक्दैन। दर्शकलाई हलमा बाँधेर राख्न गतिलो पटकथा, त्यसको गतिशीलता र प्रभावकारी संवाद अनिवार्य नै हो।
अनि पात्रको सन्तुलन पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो। हिरो अति बलियो अनि भिलेन निकै कमजोर वा भिलेन अति बलियो अनि हिरो अति कमजोर देखाउँदा पात्रले सन्तुलन गुमाउँछ। द्वन्द्वको सन्तुलन मिल्दैन। भिलेन होस् या हिरो दुवै एक अर्कालाई टक्कर दिने खालको शक्तिशाली देखिए मात्र एक्सनको मजा आउँछ।
अब यी तत्वहरुसँग आचार्यको तुलना गरी हेरौँ।
आचार्यमा एक्सनको भरपूर प्रयास गरिएको त छ, तर हिरो किन र कसरी यति ठूलो जोखिम उठाइरहेछ भन्ने प्रस्ट कारण नै खुल्दैन। कथाको प्लट हेर्ने हो भने नक्कली प्रेममा परेर भारत पुगेकी युवतीलाई उद्धार गरेर नेपाल ल्याउने हो। यसका लागि जे जति दृश्यहरू राखिएको छ त्यो कथाको माग हो र!
जस्ता द्वन्द्व राखिएको छ त्यस अनुसार युवती त्यति शक्तिशाली समूहको जालमा परेको हो भन्ने दर्शकले अनुभवै गर्न सक्दैनन्। फिल्ममा कुन पात्रले कसलाई र किन कुट्दैछ भन्ने छुट्याउन पनि गाह्रो पर्ने गरी भद्रगोल दृश्यहरू मात्र देखिन्छ। कुनै कारणसहितको द्वन्द्वले रोमाञ्चकता बढाउँछ नै। तर विना कारण कसैलाई प्याट्ट पिट्दा त 'यसको खुस्किएछ' भन्ने लाग्छ भने फिल्मको अधिकांश भाग अर्थहीन कुटाकुट राख्दा दर्शकले निर्देशकलाई के भन्लान्!
फिल्मको लम्बाइ मात्र समस्या हैन, फिल्मको लम्बाइ किन भन्ने मुख्य पक्ष हो। तर के का लागि फिल्म लम्ब्याउने?, टर्चरका लागि कि मनोरञ्जनका लागि भन्ने मुख्य पक्ष हो।
आचार्य फिल्म लम्बाएर ३ घन्टा जति पुर्याउनुको कारण पहिला नै दिक्क भइसकेका दर्शकलाई थप दिक्क बनाउनु मात्र देखियो। अढाई घण्टाभन्दा बढी समय त काटमारकै दृश्य छन्। कतिसम्म भने द्वन्द्वका दृश्यले कथालाई कतै सास फेर्ने ठाउँसम्म पनि दिएको छैन। कथाको प्लट गम्भीर छ। तर त्यसमा भावनात्मक गहिराइ नै छैन।
मुम्बईबाट नेपाल फर्किने क्रममा गुन्डाहरूले गर्ने अवरोध वा बाटोमा देखाइएका चेज सिक्वेन्सहरू यति धेरै अपत्यारिला र कल्पनाको दायराभन्दा पनि बाहिरका छन् कि त्यसले फिल्मलाई रोचक हैन हास्यास्पद बनाएको महसुस गराउँछ।
हेलिकप्टर स्टन्ट र फाइटहरूमा लिएको जोखिम देखिन्छ। तर त्यो जोखिम कथाको माग भन्दा ‘हामी पनि साउथ इन्डियन भन्दा कम छैनौँ’ भन्ने देखाउन मात्र राखिएको अनुभव हुन्छ। कमजोर भीएफएक्सका कारण दृश्यहरू कृत्रिम लाग्छन्।
निखिलको अभिनय देखिने भनेको उही फाइटहरुमा हो। अन्त सपाट देखिएका छन्। फिल्मकी नायिकाको अभिनय पनि कमजोर देखिन्छ। कथामा उनको उपस्थिति निखिललाई एक्सन सिन देखाउने कारण दिनु मात्रै हो जस्तै देखिन्छ। अन्य कलाकारको सेटअप र गेटअप हेर्ने हो भने 'वाह' देखिन्छ। तर कथासँग म्याच गरेर हेर्दा उही 'फिस्स'।
संगीत र प्राविधिक पाटो
फिल्ममा समावेश गरिएका गीतहरू ‘लै बरी लै’, ‘माया बस्यो’, र ‘नजाऊ तिमी मलाई छोडी’ मध्यम छन्। भोजपुरी फ्लेवरको एउटा गीत र अन्य केही ट्रयाकहरू ठीकठाक सुनिएका छन्। एक्सन दृश्यका ब्याकग्राउन्ड म्युजिक र साउन्ड डिजाइन ठिक छन् तर रोमान्टिक वा भावनात्मक दृश्यहरूमा कमजोर छ। छायाँकारले फिल्म खिच्न मिहिनेत गरेको देखिन्छ। सम्पादनमा पनि मिहिनेत देखिन्छ।
अन्त्यमा, ‘आचार्य’ले निखिल उप्रेतीको एक्सनको कल्पनाको तारिफ त पक्कै हुन्छ तर निर्देशक र कथाकारको रूपमा उनी अति कमजोर देखिए। फिल्मको कथा, पटकथा, निर्देशन र अभिनय सबै काम एक्लै थाम्ने प्रयास गर्दा फिल्मले एक निर्देशकबाट पाउनुपर्ने दृष्टिकोण नै पाउन सकेन। जसले फिल्मको समग्र संरचना नै खल्लो बन्यो।
समग्रमा, आचार्यमार्फत निखिलले एक्सन स्टन्टमा आफ्नो पुरानो क्रेज र क्षमता देखाएका छन् तर एक्सन फिल्ममा पनि कथाको फ्रेम त चाहिन्छ है भन्ने बिर्सँदा फिल्मभर भ्वाङ नै भ्वाङ पर्यो। ती भ्वाङबाट कतै कथा चुहियो त कतै पटकथा र अभिनय। बाँकी रह्यो उही ड्याङडुड।
फिल्ममा निखिल वास्तविक निखिलै देखिने प्रयास गरेको भए थप बलियो हुन सक्थ्यो। तर साउथ फिल्मका स्टार अल्लु अर्जुन बन्न खोज्दा 'खल्लो अर्जुन' देखिए।
असोज १२, २०८३ सोमबार २१:०७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।