‘छुसक’को अवसरमा दक्षिण कोरियामा नेपथ्यको कन्सर्ट
काठमाडौं : दक्षिण कोरियाको मुख्य चाड ‘छुसक’ को अवसर पारेर चर्चित नेपाली लोकरक ब्यान्ड नेपथ्यले सउलस्थित अत्याधुनिक किन्टेक्स हलमा सांगीतिक प्रस्तुति दिएको छ।
छैटौंपटक कोरिया पुगेको नेपथ्यको कन्सर्ट हेर्न हजारौं नेपालीको घुइँचो लागेको थियो।
बन्द हलभित्र भएको यो सहभागिता बेलायतको वेम्बली एरिनाको झल्को दिने स्तरको रहेको आयोजकले जनाएको छ। ‘कोशीको पानी यो जिन्दगानी’ बाट साङ्गीतिक यात्रा सुरु गरेको ब्यान्डले दर्शकलाई करिब दुई घण्टासम्म नचाएको थियो।
कार्यक्रममा मुख्य गायक अमृत गुरुङले नेपालमा हालै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिको चर्चा गर्दै पीडितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्दो सहयोग गर्न कोरियावासी नेपालीसँग अपिलसमेत गरे।
कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। हल परिसरमा नेपाली परम्परागत खानाका स्टलहरूसमेत राखिएको थियो।
कोरियाको सफल प्रस्तुतिपछि शनिबार स्वदेश फर्किएको नेपथ्यले आगामी अक्टोबर ४ मा युनाइटेड अरब इमिरेट्स (दुबई) मा कन्सर्ट गर्नेछ।
त्यसपछि नेपालका सात सहर, भारतको सिक्किम र यसै वर्ष अस्ट्रेलियामा समेत साङ्गीतिक यात्रा गर्ने तालिका रहेको व्यवस्थापक संस्था नेपालयले जनाएको छ।
असोज १२, २०८३ सोमबार १३:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।