बा- एक योद्धा : भावुकताको ओभरडोज
कतै यो फिल्मको उद्देश्य पनि दर्शकलाई रुवाउने प्रयासै गर्ने नै हो त ? बा-एक योद्धाको टिजर/ट्रेलर अनि प्रमोसनको ट्रिक सबै हेर्दा मनमा जे प्रश्न उब्जिएको थियो अन्तमा फिल्मको लक्ष्य त्यही नै देखियो-जसरी हुन्छ रुनु।
कथामा कुनै सरप्राइज छैन, पोस्टर रिलिज हुँदा नै सहजै अनुमान भए जस्तै पारिवारिक कथा जहाँ बाको संघर्ष केन्द्रमा छ। सन्तानको विदेश जाने रहर अनि त्यसको आर्थिक पाटो पुरा गर्न यता बा-आमाले बेहोर्नु पर्ने सकस।
कथा सामान्य र अनुमानयोग्य रहे पनि फिल्ममा केही सरप्राइज प्याकेज नभएका हैनन्।
पहिला कथासार,
काभ्रेको एक गाउँमा रहेको रुद्र प्रसाद अधिकारी(दिब्यदेव पन्त)को परिवारको उतारचढाव नै फिल्मको मुख्य पक्ष हो। पाँच जनाको परिवारमा रुद्रकी श्रीमती (झरना थापा),छोरी कृपा अधिकारी (सुहाना थापा),छोरा विशाल अधिकारी (सागर खनाल)छन्। छोरीको विवाह काठमाडौं निवासी सतिशसँग भएपछि परिवारको संख्या पुग्छ।
रुद्रप्रसादको छोरा-बुहारी जसरी पनि विदेश जान चाहने। यता अवकाश पाइसकेका रुद्रको आर्थिक हैसियत उनीहरूलाई विदेश पठाउन नसक्ने। तर छोरीको धुमधामले विवाह गर्न सक्ने तर आफूलाई विदेश पठाउन नसक्ने भन्दै घरमा कलह छिराउँछन् छोरा-बुहारीले।
ऋण गरेर विदेश पठाएको छोरा बुहारी सम्पर्कहीन। टाउकोमा ऋणको भारी। यता छोरीको घरबारमा पनि कचिंगल। श्रीमती बिरामी।
सन्तान हुर्काउन योद्धाका रूपमा काम गरेका रुद्रले अवकाशको जीवनमा आइ परेको यो संकटसँग कसरी लड्छन्? फिल्मको मुख्य कथा यसैमा लुकेको छ।
बलियो पक्ष
यो फिल्मको बलियो पक्ष दिब्यदेवको अभिनय हो। युवा होस् या बृद्धकाल उनी क्यारेक्टरमा भिजेर अभिनय गरेका छन्। उनको अभिनय वाह भन्न लायक छ।
अन्य कलाकारले पनि अभिनयमा दिब्यदेवलाई राम्रै साथ दिएका छन्। मुख्य रूपमा अनिल बुढाथोकीको नेगेटिभ भाइब्ससहितको चरित्र र अभिनय यो फिल्मको अर्को बलियो पक्ष हो।
फिल्मलाई संगीतमा बलियो बनाउन निर्देशक हरि लम्सालले आफ्नो अनुभव र सीपको राम्रै प्रयोग गरेका छन्। ‘नभन्नु कोहीसित’, ‘जाऊ छोरी जाऊ नरोइकन जाऊ’ लगायतका गीतले कथाको गति बिगारेका छैनन्। ‘चढेको बुई नबिर्स,टेकेको भुईँ नबिर्स’ बोलको गीत यो फिल्मको सबैभन्दा बलियो देखिन्छ।
फिल्मको ब्याकग्राउण्ड म्युजिक ठिकै सुनिएको छ। छायाङ्कन मध्यम देखिन्छ। सम्पादन र कलरिङ ठिकै छ। सरल कथामा दर्शक भुलाउन पटकथा र संवादमा गरेको मिहिनेत फिल्म हेर्दा अनुभव हुन्छ।
कमजोरी
आँसु केवल दुःखमा मात्रै खस्दैन, खुसीमा पनि आँखा रसाउँछ। तर सुखमा खस्ने र दुःखमा खस्ने आँसुको अर्थ पक्कै फरक हुन्छ। भाव फरक हुन्छ। अझ यसमा चालै नपाई खस्ने आँसुको अर्थ जबर्जस्ती गिलसिरिन शैलीमा बग्ने आँसुमा खोजेर कहाँ पाइन्छ र!
फिल्म बा : एक योद्धाको सबैभन्दा कमजोर पक्ष नै यही आँसुमा लुकेको छ। 'नरोइ हल छोड्न पाइन्न' भन्ने पाराको इमोसनल दृश्यको थुप्रो बा : एक योद्धाको सबैभन्दा कमजोर पक्ष हो।
कथा अनुसार स्वःस्फूर्त आउने दृश्यमा भन्दा जसरी पनि दर्शक रुनु पर्यो भन्ने नियत प्रस्ट देखिन्छ फिल्म हेर्दा।
जस्तो फिल्मको मुख्य पात्र कृपाले आफ्नो श्रीमानले अर्को युवतीलाई ब्ल्याकमेल गरेको चाल पाएपछि बाटोमा चिच्याएर रुँदै हिँडेको दृश्य। फिल्मभर दिब्यदेवका गम्भीर संवाद र दृश्यहरू हुँदाहुँदै सुहानालाई लाचार बनाएर सडकमा रुवाउँदै हिँडाउनुको अर्थ के?
कथाले ठ्याक्कै त्यही दृश्यको माग गरेको अनुभव पनि हुन्न। नपत्याए त्यो सिन आएको बेलामा हलमा दर्शक हाँस्छन् कि रुन्छन् हेरे हुन्छ। मैले त हाँसेको देखेँ।
अर्को त्यस्तै दृश्य छ दिब्यदेवकै। जब विदेश जाने दिन आउँछ छोरा बुहारी बाबुलाई नभेटी घरबाट निस्कन्छन्। अनि दिब्यदेवले देखेपछि भेट्न छोरा भन्दै गाडीको पछिपछि कुद्छन्। यो पनि इमोसनको ओभरडोजै देखियो।
निर्देशकले कथामा छोरा- बुहारी क्यानडा पठाए तर क्यानडाका दृश्यमा पनि नेपालकै अनुभव गराए। ती दृश्यले छोरा बुहारी क्यानडामा हैन बाबु आमासँग रिसाएर पल्लो घरमा डेरामा बसे जस्तै अनुभव गरायो।
अर्को, फिल्ममा फ्ल्यासब्याक दृश्यहरू राखिएका छन् जसमा हुर्किसकेका सन्तान बाल्यकालमा फर्कन्छन्, झ्याप्प दाह्री-जुँगा पलाएका दिब्यदेव जुँगा मात्र भएका ठिटोमा बदलिन्छन्। तर दिब्यदेवको श्रीमती बनेकी झरना युवा कालमा पनि उस्तै, बृद्धकालमा पनि उस्तै कसरी!
असल बाबुको छोरा अति खराब देखाइएको छ। तर छोरा किन यति खराब भयो? खुल्दैन। अर्कोतिर छोरी अति असल देखाइएको छ। तर छोरी किन यति असल? त्यो पनि खुल्दैन।
अन्त्यमा,
सामान्य सामाजिक कथावस्तुमा फिल्म बनाउनु आफैँमा जोखिमपूर्ण प्रयास हो। निर्देशक लम्सालले यो जोखिम उठाएकै हुन्। त्यसमा दिब्यदेवले आफ्नो अभिनयबाट मजाले साथ दिएका छन्। गीत संगीतमा निर्देशकको अनुभवले राम्रै काम गरेको देखियो। तर समस्या दर्शकलाई जसरी पनि रुन बाध्य बनाउन थापिएका भावनात्मक धरापहरूमा देखियो। भावना नै भए पनि ओभरडोज त ठिक हुन्न क्या!
असोज ११, २०८३ आइतबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।