‘पेन्सन पट्टा’ : निर्देशक माओत्सेको परिपक्व काम
नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय प्रवर्द्धनका नाममा हल-हलमा गएर नक्कली दर्शकलाई रुवाबासी गराउने र सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने अनि निर्माता आफैँले टिकट किनेर किनेका दर्शकको भरमा हलको शो धान्ने प्रवृत्ति मौलाएको छ।
तर, दर्शकलाई हलसम्म खिच्न त्यस्ता नक्कली हथकन्डा होइन, बलियो कथा र कथावस्तु सुहाउँदो प्रस्तुति काफी हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ-निर्देशक माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’।
सञ्जालमा हलबाट चुहिएका केही क्लिप बाहेक रुवाबासी देखिन्न। उनले पनि अन्य निर्माता जस्तै हलमा फिल्म टिकाउन कतै आफैँ टिकट किनेर नक्कली दर्शकको भर त परेका छैनन् भन्ने शंका निरन्तर हलमा फिल्म टिक्नुले 'हैन कि' भन्ने पक्ष बलियो देखाउँछ।
अब लागौ, कथावस्तु र प्रस्तुतितर्फ
फिल्मको कथा एक सेवानिवृत्त भारतीय पल्टनको पेन्सनमा केन्द्रित गराइएको छ। सुबेदार गंगाबहादुर गुरुङको निधनपछि उनकी कान्छी श्रीमती छलिमाया र छोरा राजन (दयाहाङ राई) पेन्सन क्याम्पमा पुग्दा पेन्सनको हकदार अर्कै (जेठी आमा) रहेको खुल्छ। त्यसपछि सुरु हुन्छ बाउको पेन्सको अधिकारको लडाइँ। आफ्नो अधिकार र अस्तित्वका लागि राजनले गर्ने यही पेन्सनको सङ्घर्ष नै फिल्मको मूल कथा हो।
कथाकार तथा निर्देशक माओत्से गुरुङले आफ्नै माटोको सुगन्ध आउने ग्रामीण परिवेश (भुजुङ गाउँ) र गोर्खा लाहुरेहरूको यथार्थ जीवनलाई पर्दामा उतार्ने प्रयास गरेका छन्। फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई दुई घण्टा आठ मिनेट बाँधेर राख्न सफल देखिन्छ।
बलियो पक्ष
यस फिल्मको सबैभन्दा ठूलो शक्ति भनेको यसको यथार्थपरक कथा र ‘ट्वाक्कै’ कानमा पस्ने संवादहरू नै हुन्। विशेष गरी, "प्रेम हुनु र जीवन चलाउनु फरक कुरा रहेछ, मेरा बुबाले उहाँलाई (जेठी आमा) प्रेम गर्नुभयो अनि मेरी आमालाई जीवन चलाउन ल्याउनुभयो" भन्ने जस्ता संवादले दर्शकको मन छुन्छ।
प्रायः अभिनयमा एकै किसिमको हाउभाउमा दोहोरिनु अभिनेता दयाहाङको समस्या हो। तर यो फिल्ममा निर्देशक माओत्से गुरुङले दयाहाङको त्यो कमजोरी सुधार्न गरेको मिहेनत हलको पर्दामा देखिन्छ। सुकुम्बासी लाहुरेको छोराको रूपमा उनको अभिनय निकै संयमित र प्रभावशाली देखिएको छ।
यसका सहायक पात्र गौमाया गुरुङ (माला), पशुपति राई, विल्सनविक्रम राई र बुद्धि तामाङको अभिनय र कमेडीले दर्शकलाई दिक्क हुनबाट जोगाएको छ। सहायक पात्रहरू मुख्य पात्रमाथि हाबी हुनबाट निर्देशकले रोकेका छन्। उनीहरू मुख्य पात्रको कथा अगाडि बढाउन बलियो सहायकै भएका छन्।
कथाको मर्मसँग सुहाउने लोकलयका गीतहरू (जस्तै: ‘ऐना हेरेर कपाल कोरेर’) ले कथालाई जीवन्त बनाउन ठूलो भूमिका खेलेका छन्।
कमजोरी
हङकङे लाहुरेको प्रवेश र बाल्यकालको सम्बन्धको पाटो खुल्दै जाँदा फिल्मको गति भने केही समयका लागि सुस्त र शिथिल बनेको महसुस हुन्छ।
ग्रामीण सौन्दर्य र ऐतिहासिक पृष्ठभूमि बोकेको कथा भए तापनि छायाङ्कनमा अझै केही नौलोपन वा भिजुअल ग्रान्डुर देखाउन सकिने ठाउँ देखिन्छ फिल्ममा तर दृश्यहरू सामान्य लाग्छन्।
समग्रमा, ‘पेन्सन पट्टा’ मा निर्देशकले अघिल्लो फिल्म ‘दयारानी’ का कमजोरीहरूबाट पाठ सिकेर एक परिपक्व फिल्म बनाएका छन्। यसले नेपाली समाजको पारिवारिक यथार्थ, मानवीय सम्बन्ध र जीवनका तीतो-मीठो पाटोलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
असोज १०, २०८३ शनिबार २२:५३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।