‘पाँच पाण्डव’को पोस्टरमा हरिवंशदेखि जितुसम्म, तिहारमा रिलिजको तयारी
काठमाडौं : ‘पाँच पाण्डव’ फिल्मको निर्माण टिमले फिल्ममा रहेका पाँच कलाकार समेटेर फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। फस्टलुक पोस्टरमा फिल्मका पाँच कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला रहेका छन्।
पोस्टरअनुसार हरिवंश युधिष्ठिर, जितु भीम, आर्यन अर्जुन, महेश नहकुल र सुशील सहदेव बनेका छन्। पात्रहरुको चरित्रको आधारमा फिल्म कमेडी जनाराको देखिन्छ तर निर्माण पक्षले यो सोसल ड्रामामा केन्द्रित रहेको दाबी गरेको छ।
तिहारको छेको पारेर कार्तिक २० मा फिल्म रिलिज हुँदैछ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतका कलाकारहरू समेत छन्।
फिल्मको प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मले मुस्किलले लगानी जोगाएको थियो। फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन्।
असोज ८, २०८३ बिहीबार १९:५३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।