दसैँको त्रिपक्षीय भिडन्तबाट पछि हट्यो अनमोलको ‘बाटुलो जून’, भाइटीकाको भोलिपल्ट रिलिज हुने
काठमाडौं : दसैँको फूलपातीमा प्रदर्शन हुने भनिएको फिल्म ‘बाटुलो जून’ को रिलिज मिति पछाडि सरेको छ।
निर्देशक भुवन केसीले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै ‘बाटुलो जून’ को नयाँ प्रदर्शन मिति घोषणा गरे। दसैंको अवसरमा प्रदर्शन हुने भनिएको फिल्म अब कात्तिक २६ गते अर्थात् भाइटिकाको भोलिपल्ट देखि हलमा आउने भएको छ।
नेपाली फिल्म उद्योगमा निर्माण नहुँदै रिलिज मिति तोक्ने र पछि सार्ने पुरानै प्रवृत्ति हो। यसअघि पनि ‘अभिमन्यू: च्याप्टर वान’, ‘महाभोज’, ‘चपली हाइट ३’ र ‘केटी हराएको सूचना’ जस्ता फिल्मले तोकिएको मिति सारेका थिए। तर, थुप्रै फिल्मले आफूले तोकेको प्रदर्शन मिति सार्दा पनि बक्स अफिसमा अपेक्षित सफलता पाउन सकेका भने थिएनन्।
फूलपातीको अवसरमा रोहित अधिकारीको ‘छ माया छपक्कै २’, विराज भट्टको ‘१२ गाउँ २’ र विपना थापा अभिनीत ‘आ बाट आमा २’ आउने भएपछि निर्माता भुवन केसीले व्यावसायिक जोखिम कम गर्न मिति सारेको बुझिएको छ।
दसैँको प्रतिस्पर्धाबाट पछि हटेपछि मेगास्टार अनमोल केसीको ‘स्टारडम’ र ‘स्टार पावर’ कमजोर भएको टिप्पणी समेत फिल्मी वृत्तमा हुन थालेको छ। यद्यपि, निर्माण पक्षले भने दसैँमा फिल्महरूको अत्यधिक चाप भएकाले दर्शकलाई सहज होस् भनी तिहारमा सारेको दाबी गरेको छ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् भने जिया केसी र भविष्य खड्काको लगानी रहेको छ।
रंगपत्रकार तथा समीक्षक सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिनासम्मको अभिनय छ।
तीन ठुला फिल्मको डरले दसैँ छोडेर तिहार पुगेको ‘बाटुलो जून’ ले नयाँ मितिमा दर्शकको कत्तिको साथ पाउँछ, त्यो भने हेर्न बाँकी नै छ।
असोज ७, २०८३ बुधबार १८:१७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।