‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक, 'आचार्य' र 'जदौ'को तयारी कस्तो?
काठमाडौं : झरना र सुहाना थापा अभिनित फिल्म ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। यसअघि भदौ १९ गते प्रदर्शन मिति तोकिए पनि सारेर असोज ९ पुर्याइएपछि निर्माण पक्षले प्रचारप्रसारलाई तीव्र बनाउँदै दोस्रो ट्रेलर रिलिज गरेको हो।
हरि लम्सालको कथा, लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आमा-छोरी झरना थापा र सुहाना थापाले पहिलो पटक पर्दामा सँगै अभिनय गरेका छन्। यसअघि झरनाको निर्देशन र सुहानाको अभिनय रहने गरे पनि यस फिल्ममा दुवैलाई आमा-छोरीकै भूमिकामा देख्न सकिनेछ।
फिल्ममा अभिनेता दिव्यदेव पन्तलाई मुख्य पात्र अर्थात् 'पाका बा'को भूमिकामा प्रस्तुत गरिएको छ। एक्सन अभिनेताका रूपमा चिनिएका दिव्यदेवको यो फरक पात्र र अभिनयलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ।
ट्रेलरमा वैदेशिक रोजगारका लागि घर धितो राख्दा भोग्नुपरेको लिलामीको पीडा र बुवा-छोरीको भावनात्मक सम्बन्ध वरिपरि घुमेको छ।
फिल्ममा दिव्यदेव, झरना र सुहानाका साथै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
'आचार्य' र 'जदौ'को अवस्था के छ?
असोज ९ गते नै 'बा : एक योद्धा'सँगै अन्य दुई फिल्म 'आचार्य' र 'जदौ' पनि प्रदर्शनमा आउँदैछन्।
अभिनेता निखिल उप्रेतीको पुनरागमन मानिएको फिल्म 'आचार्य'ले अहिलेसम्म ट्रेलर सार्वजनिक गरेको छैन। यद्यपि, प्रचारप्रसारका रूपमा निर्माण पक्षले हालै 'लै बरि लै' बोलको गीत सार्वजनिक गरेको छ।
यस्तै, नीति शाह अभिनित फिल्म 'जदौ'को भने भोलिसम्ममा ट्रेलर सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले बताएको छ।
एउटै मितिमा फरक-फरक कथावस्तु बोकेका तीन फिल्म भिड्ने भएपछि बक्स अफिसमा कुन फिल्मले दर्शकको मन जित्छ भन्ने त हेर्न बाँकी नै छ।
भदौ ३१, २०८३ बुधबार १७:४०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।