‘बेहुली’को ट्रेलरमा बुबा दिलिपको अवतारमा देखिइन् दिव्या, बाढी पीडितलाई ५ प्रतिशत हिस्सा दिने
काठमाडौं : हलमा लाग्न जम्मा ५ दिन बाँकी छँदा अन्ततः बहुप्रतीक्षित फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक भएको छ।
टिकटकमा ‘कुल ब्वाई’ उपनामले लाखौं फ्यान कमाएका पारस बम ठकुरी र हिरोइन दिव्या रायमाझी स्टारर यो फिल्मको ट्रेलर बाहिरिएसँगै सोसल मिडिया र फिल्मी वृत्तमा राम्रै गसिप तातेको छ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा प्रेम, पारिवारिक ड्रामा र मित्रताको त्रिकोणात्मक मसला भरपुर देखिन्छ। विशेषगरी डेब्यु ब्वाय पारस र दिव्याबीचको केमेस्ट्रीले दर्शकको ध्यान तानेको छ।

तर, ट्रेलरको सबैभन्दा ठूलो ‘सरप्राइज प्याकेज’ भने अन्तिम दृश्य बनेको छ। जहाँ दिव्या आफ्नै सुपरस्टार पिता दिलीप रायमाझीको सिग्नेचर स्टाइलमा देखिएकी छन्। सोसल मिडियामा यस दृश्यको क्लिप भाइरल बनेको छ।
फिल्ममा अन्य कलाकारको अवतार पनि कम रोचक छैन। चकलेटी सुशान्त कार्कीलाई कडा प्रहरी अफिसरको बर्दीमा उतारिएको छ भने सन्तोष बानियाँको भिलेन अवतारमा छन्।
कमेडी पाटोमा पदम तामाङले दर्शक हँसाउने जिम्मा लिएका छन्। सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस फिल्ममा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र बालकलाकार समायरा थापा मगरको पनि अभिनय देख्न सकिन्छ।
बाढी पीडितलाई ५ प्रतिशत कमाइ दिने अर्जुनको घोषणा
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण निर्माण टिमले फिल्मको प्रचारप्रसार रोकेको थियो। स्थिति केही सामान्य बनेपछि बल्ल ट्रेलर सार्वजनिक गर्दै टिम मैदानमा उत्रिएको हो।
ट्रेलर रिलिज कार्यक्रममा चर्चित सङ्गीतकार तथा फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेलले एउटा मन छुने घोषणा गरे। उनले फिल्मको बक्स अफिस कमाइबाट निर्माताको भागमा पर्ने मुनाफाको ५ प्रतिशत रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने बताए।
प्रताप शमशेर राणाको निर्माण रहेको फिल्ममा सङ्गीतकार पोखरेल प्रस्तुतकर्ता हुन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यस्तै, गायिका दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माताका रूपमा जोडिएका छन्।
बक्स अफिसमा त्रिपक्षीय भिडन्त !
यसै साता हलमा ‘बेहुली’ एक्लै भने आउने छैन। यो फिल्मसँगै बक्स अफिसमा अर्को प्रतीक्षित फिल्म ‘अक्षरा’ र ‘पेन्सन पट्टा’ पनि जुध्दै छन्। रोचक कुरा के छ भने, ‘पेन्सन पट्टा’ निर्माण टिमले पनि फिल्म चलेको खण्डमा बाढी प्रभावित कोषमा रकम दिने बाचा गरिसकेको छ।
बाबु दिलीपको स्टारडमलाई छोरी दिव्याले बक्स अफिसमा कत्तिको क्यास गर्लिन् र टिकटक स्टार पारसले मल्टिप्लेक्समा दर्शक कत्तिको तान्लान्? त्यो भने यही साता हल खुलेपछि नै थाहा हुनेछ!
भदौ २२, २०८३ सोमबार ११:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।