'ककाकिकी' र 'बा : एक योद्धा'को प्रदर्शन सर्दा नीताको 'पार्वती'लाई हाइसन्चो
काठमाडौं : भोटेकोशी नदीमा गत बुधबार आएको बाढीले सिर्जना गरेको विषम परिस्थितिमा हलमा फिल्म चलाउन नसकिने निष्कर्षमा पुगेका दुई फिल्मले आफ्नो पूर्व निर्धारित प्रदर्शन मिति सारेका छन्।
भदौ १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म ‘ककाकिकी’ र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ। यी दुवै फिल्म मंसिरमा धकेलिएपछि अहिले हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’लाई फाइदा पुग्ने देखिएको छ।
दुई वटा प्रतीक्षित फिल्मको प्रदर्शन सरेपछि अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘पार्वती’ले अब भदौ २६ गतेसम्म हलमा ‘सोलो रिलिज’को मौका पाएको छ। भदौ २६ गतेदेखि भने तीन वटा फिल्म ‘पेन्सन पट्टा’, ‘बेहुली’ र ‘अक्षरा’ प्रदर्शनमा आउने तयारीमा छन्।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’, संगीतकार अर्जुन पोखरेलको फिल्म ‘बेहुली’ र न्यान्सी खड्का अभिनीत ‘अक्षरा’सँगै हलमा लाग्ने भनिएको दिल श्रेष्ठ अभिनीत फिल्म ‘माया भनेको यस्तो होला’ भने कात्तिक २० गतेका लागि सरेको छ।
दिव्य देवको मुख्य भूमिका रहेको फिल्म ‘बा : एक योद्धा’ अब आगामी मंसिर २४ गते प्रदर्शन हुने भएको छ। फिल्म युनिटले हालै आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ सहयोग समेत गरेको छ। फिल्ममा दिव्य देवका साथै सुहाना थापा र झरना थापाको पनि अभिनय रहेको छ।
त्यस्तै, ‘कमेडी दरबार’को टिम विक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशन तथा निर्माण रहेको फिल्म ‘ककाकिकी’ मंसिर ११ गतेका लागि सरेको छ। प्रदर्शन मिति सरेसँगै फिल्मको प्रचारप्रसारका कामहरू पनि हाललाई स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।
भदौ १५, २०८३ सोमबार १८:२९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।