प्रचारमा ठूला गफ, बक्स अफिसमा सोत्तर!

प्रचारमा ठूला गफ, बक्स अफिसमा सोत्तर!

काठमाडौं : भारतीय निर्देशक सुवेन्दु घोषलाई नेपाल झिकाएर अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को कमाई निकै कमजोर देखियो। प्रदर्शन अगाडि निकै ब्लकबस्टर फिल्मको ट्याग दिएर प्रचार गरिएको फिल्म मास्टर्नीले प्रदर्शनको १० दिनमा ४० लाख रुपैयाँको आंकडा पार गर्न सकेको छैन।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले गत भदौ ५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले आइतबार रातिसम्म कुल ३९ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको देखायो। यस अवधिमा ११ हजार ९९६ जना दर्शकले हेरेको फिल्म मास्टर्नीका निर्देशक घोषको निर्देशनमा बनेको अघिल्लो फिल्म ‘आई एम जित बहादुर’को कमाइ पनि नाजुक थियो। उक्त फिल्ममा पनि अभिनेत्री प्रियंकाको अभिनय रहेको थियो।

‘गौँथली’ को व्यापार आक्रामक
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले भने घरेलु बक्स अफिसमा ऐतिहासिक व्यापार गर्न सफल भयो। बोर्डको रिपोर्टले आइतबारसम्म फिल्मले २५ करोड ६८ लाख रुपैयाँ कलेक्सन गरेको देखायो। फिल्मलाई हालसम्म नौ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन्।

‘हली’ र ‘लज्जावती’को अवस्था
साउन २२ गतेबाट प्रदर्शनमा आएको ओम प्रतिकको कथा तथा निर्देशन रहेको फिल्म ‘हली’ले आइतबारसम्म २३ लाख ११ हजार रुपैयाँ ग्रस कलेक्सन गर्यो। आठ हजार ४६३ जना दर्शकले साथ दिएको यस फिल्मा नयाँ कलाकारहरुको बाहुल्या थियो। 

त्यस्तै, साउन २९ गतेबाट प्रदर्शनमा आएको राजबहादुर सानेद्वारा निर्देशित फिल्म ‘लज्जावती’ले पनि बक्स अफिस रिपोर्टअनुसार निकै खराब प्रदर्शन गरेको देखियो। प्रदर्शनको १७ दिनसम्ममा पनि फिल्मले जम्मा ७ लाख ७५ हजार रुपैयाँको व्यापार गरेको छ भने २ हजार ७३५ जना दर्शकले मात्र फिल्म हेरेका छन्।

‘पार्वती’ को सुरुवाती सक्रियता
गएको शुक्रबार (भदौ १२) देखि प्रदर्शनमा आएको नीता ढुङ्गानाको निर्देशन र मुख्य भूमिका रहेको फिल्म ‘पार्वती’ले भने सुखद सुरुवात गरेको दाबी गरिएको छ। वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार २५ लाख र शनिबार ४० लाख माथिको व्यापार गरेको छ। 

यद्यपि, बोर्डको आधिकारिक बक्स अफिस रिपोर्ट भने अर्को सोमबार मात्र सार्वजनिक हुनेछ। फिल्मको निर्माण टिमले बाढीपीडितका लागि पहिलो दिनको कमाइबाट ११ लाख ३ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ।

कुन फिल्ममा को-को कलाकार छन् ? 
आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’मा प्रियंकाका अलावा आर्यन सिग्देल,सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा, क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेको यो फिल्ममा लगानी आयुष्मान देशराज जोशीले गरेका हुन्। नेपालीसहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने भनिएको यो फिल्मको नेपाली भाषाको मात्रै रिलिज भएको हो। 

त्यस्तै साउन १ गतेबाट हलमा लागेको फिल्ममा नयाँ पुराना कलाकारहरूले अभिनय गरेका छन्। फिल्मको मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का रहेका छन्। यसका अलावा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। साथै,बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली छन्। डाक्टर भोला रिजालको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद लेखन यसै फिल्मका निर्देशक डाक्टर कपिलसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेको छ। फिल्मको लगानी पनि निर्देशक आफैले गरेका छन्। 

सोही महिना अर्थात् साउन २२ गतेबाट हलमा लागेको फिल्म ‘हली’लाई ओमप्रतिकले लेखेका हुन् भने निर्देशन पनि उनैको हो। यस फिल्ममा जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीककै मुख्य भूमिका छ। एउटा गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको नृत्य छ।

साउन २९ गतेबाट रिलिज भएको फिल्म ‘लज्जावती’मा मुकुन भुसाल, जानुका विश्वकर्मा,श्रीकृष्ण निरौला, मेनुका माझी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। प्रेम, बिछोड, धोका र सम्बन्धमा आउने संघर्ष यो फिल्मको मुख्य विषय हो। यसै फिल्मको प्रचारका क्रममा श्रीकृष्ण निरौलाले फिल्म खेल्नका लागि निखिल उप्रेतीलाई छाता ओढाएको थिए भनेपछि उनको आलोचना भएको थियो।

भदौ १५, २०८३ सोमबार १७:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।