बाढीपीडितका लागि नेपाली कलाकारको सहयोग, बलिउड कलाकारको पनि ऐक्यबद्धता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत बुधवार आएको विनाशकारी बाढीपछि उद्धार, राहत र खोजी कार्य जारी छन्। बाढीका कारण ठूलो संख्यामा स्थानीय विस्थापित हुन पुगे भने ठूलो जनधनको क्षति भयो। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित राज्य संयन्त्र र स्रोत-साधन परिचालन गरिरहेको छ।
सरकारले प्रभावित क्षेत्रमा खोजी, उद्धार र तत्काल राहत वितरणलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ। संकटको यस घडीमा सहयोग गर्न नागरिक, निजी क्षेत्र र सामाजिक संस्थाहरूलाई आह्वान गरिएको छ। राहत संकलनको लागि सरकारले 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष'को क्युआर कोड सार्वजनिक गरेसँगै सहयोग जुट्ने क्रम जारी छ।
आम सर्वसाधारणदेखि कलाकार, खेलाडी, व्यवसायी, प्रतिष्ठित व्यक्तित्वदेखि सङ्घसंस्थाहरूले सहयोग उपलब्ध गराउन थालेका छन्। केही कलाकारहरूले सामाजिक सञ्जालमार्फत सहयोग रकम सरकारले सार्वजनिक गरेका बैंक खातामा पठाएको स्क्रिन सर्ट शेयर गरेका छन्।
जसमा अभिनेत्री नीता ढुङ्गानाले एक लाख रुपैयाँ कोषमा जम्मा गरेको जानकारी दिएकी छन्। उनीपछि अन्य कलाकार वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा दुई लाख सरकारी कोषमा जम्मा गरेको उल्लेख गरेका छन्।
"बाढीको बितन्डताले देश रोई रहेको बेला देश विदेशमा रहेका हामी सबैले प्रधानमन्त्री राहत कोषमा आफ्नो गक्ष अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह)बाट पनि एक-एक लाख गरी दुई लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छौं," उनीहरूले भनेका छन्।
अभिनेता विराज भट्टले एक लाख ५१ हजार, गायिकाद्वय रचना रिमाल र बेनिशा पौडेलले सरकारको राहत कोषमा एक/एक लाख रुपैयाँ जम्मा गरेको भनेका छन्। साथै गायक तथा निर्माता रामकृष्ण ढकालले आफूले पनि सकेको सानो सहयोग गरेँ भन्दै ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष रकम जम्मा गरे।
साथै अभिनेत्री माल्भिका सुब्बा र निर्माता, वितरक गोविन्द शाहीले जनही ५०/५० हजार रुपैयाँ, निर्माता सुशील पोखरेलले ३३ हजार ३३३ रुपैयाँ, गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५/२५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जानकारी दिए। लोकदोहोरी गायिका राधिका हमालले आफ्नो तर्फबाट २१ हजार रुपैयाँ सहयोग गरेको जनाएकी छन्।
रकम नखुलाई सहयोग गरेका
केही सेलिब्रेटीले सहयोग रकम खुलाएका छैनन्, तर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खाताको क्युआर सेयर गरेर आफूले सहयोग गरेको र अरूलाई पनि सकेको सहयोग गर्न प्रेरित गरिरहेका छन्। सहयोग रकम नखुलाउने सेलिब्रेटीमा अभिनेत्री आँचल शर्मा, मिरुना मगर, ऋचा शर्मा, अनमोल केसी, प्राश्ना शाक्य, गजित विष्टदेखि निर्देशक प्रदीप भट्टराईसम्म छन्।
उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरूले सहयोग गरेको जानकारी दिएका छन्। यता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरे।
यता कलाकार राजेश हमाल, निखिल उप्रेती, प्रदीप खड्का, दीपकराज गिरी, दिपाश्री निरौला, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, विल्सन बिक्रम राई, गरिमा पन्त लगायत चर्चित कलाकारहरूले सहयोग गरेका छन्। गरिमाले सहयोग गरेको जम्मा गरेको स्क्रिन सर्ट सामाजिक सञ्जालमा राखेकी छन्, तर कति रकम सहयोग गरिन भन्ने खुलाएकी छैनन्। उनीहरूले ‘विपद् विरुद्ध सबै एकजुट’ हुन र नदी तटीय क्षेत्रका नागरिकहरूलाई सजग रहन आग्रह गरेका छन्।
भारतीय कलाकारको पनि साथ
भारतीय कलाकारहरूले पनि नेपालमा भएको विपद्को समयमा आफूहरूसँगै रहेको र सहयोग गर्न तयार रहेको बताएका छन्। अभिनेता सोनु सुद, अभिनेता तथा भारतको लोकसभाका सांसद अरुण गोविल, सञ्जय दत्त, अनुपम खेरल तथा गायक सोनु निगम लगायतले नेपालमा आएको अचानकको बाढीले पुर्याएको विनाशप्रति आफूहरू अत्यन्त दुःखी र स्तब्ध भएको उल्लेख गरेका छन्।
सोही क्रममा अभिनेता सोनु सुदले विपत्को यो घडीमा आफू नेपालीसँगै रहेको र नेपाललाई सघाउन चाहेको बचन दिएका छन्। साथै उनले यो विपत्को घडीमा आफू सहयोग सामाग्रीसहित नेपाल आउन लागेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका, "नेपाल, तिमी एक्लो छैनौ। हामी खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सघाउने सामर्थ्यसहित आउँदैछौँ।"
अर्का अभिनेता अनुपमले नेपाल र नेपालीको रक्षाका लागि भगवानसँग प्रार्थना गर्दै नेपालमा आएको अचानकको बाढीले पुर्याएको विनाशप्रति म अत्यन्त दुःखी र स्तब्ध रहेको उल्लेख गरेका छन्। उनी लेख्छन्, "नेपालमा आएको अचानकको बाढीले पुर्याएको विनाशप्रति म अत्यन्त दुःखी र स्तब्ध छु। धेरै मानिसहरूले ज्यान गुमाएका छन्, परिवारहरू छुट्टिएका छन्, घरहरू बगेका छन् र निर्दोष जनावरहरू पनि यस विनाशमा परेका छन्। केही क्षणमै कसैको आफ्नो भनेर रहेको सबै कुरा हराउन सक्छ भन्ने कल्पना गर्दा पनि मन अत्यन्त दुख्छ।"
उनले बाढीबाट आएका दृश्य तथा भिडियो हेरेको र आफूलाई निकै असहाय महसुस भएको बताएका छन्। साथै आफ्नो प्रियजन गुमाएको व्यक्तिलाई सान्त्वना दिन आखिर के शब्द पर्याप्त हुन सक्छन्? शोकमा रहेका परिवारहरू र डर तथा अनिश्चितताको बीच बाँचिरहेका सबै नेपालीहरूप्रति मेरो मनदेखि नै सहानुभूति रहेको उल्लेख गरेका छन्।
उनले यस्तो कठिन समयमा संसार एकजुट भएर सहयोग गर्न आग्रह गरे। उनी थप्छन्, "म नेपालका जनता र सीमापार तिब्बतमा प्रभावित सबैका लागि प्रार्थना गर्छु। अझै सहयोगको प्रतीक्षामा रहेकाहरूसम्म उद्धार टोली पुग्न सकोस्। आफ्ना प्रियजन खोजिरहेका मानिसहरूले उनीहरूलाई सुरक्षित भेट्न सकुन्। र सबै कुरा गुमाएकाहरूले सहयोग, आश्रय र साथ पाउन सकुन्।"
यता अर्का बलिउड गायक सोनु निगमले बाढीका भिडियो सेयर गर्दै बाढी प्रभावित व्यक्ति र परिवारप्रति भगवान् चाँडै यो परिस्थितिको अन्त्य गर्नुहोस् भन्दै कामना गरेका छन्। भिडियोमा उनले भनेका छन्, "नेपालमा आइलागेको विपत् भयावह छ । प्रकृतिको अघि सबै कुरा कमजोर र बाध्यकारी हुन्छन् । नेपालका व्यक्ति र परिवारप्रति मेरो समवेदना छ । भगवान् चाँडै यो परिस्थितिको अन्त्य गर्नुहोस्।"
अर्का अभिनेता सञ्जय दत्तले पनि इन्स्टाग्राम स्टोरीमार्फत आफू यस्तो कठिन परिस्थितिमा नेपालीसँगै एकसाथ उभिएको उल्लेख गरेका छन्। भारतको लोकसभाका सांसद तथा अभिनेता अरुण गोविलले बाढी प्रभावित नेपालप्रति प्रार्थना गरेका छन्। नेपालको यो घटना सुनेर आफू मर्माहत भएको जनाउँदै गोविलले प्रभावितको सुरक्षा, सहन शक्ति र कल्याणको लागि आफूले प्रार्थना गरेको उनले जनाएका छन्।
उनले चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’मा भगवान् रामको भूमिका निर्वाह गरेका थिए। उक्त पात्रबाट चर्चामा आएका अरुणले नेपालीहरूको दुखद क्षणमा आफू साथमै रहेको र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अन्य कलाकारहरूले पनि आफूहरू नेपाललाई आपत् परेको खण्डमा आफूहरू दुखी भएको बताएका छन्।
भदौ १२, २०८३ शुक्रबार १५:५९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।