विपद् प्रभावितलाई राहत र पूर्वाधार मर्मतमा ढिलाइ नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउने राहत र पुनर्स्थापनामा कमी हुन नदिने बताएका छन्।
प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई सम्बोधन गर्दै आचार्यले रोल्पा लगायतका जिल्लामा विपद्ले ठूलो जनधनको क्षति पुर्याएकाले राहत वितरण र क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मतलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।
"विपद्का घटनामा सरकारको तर्फबाट पीडितले पाउने राहत समयमै उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो," उनले भने, "क्षतिग्रस्त सडक, खानेपानी र सिँचाइका समस्या समाधान गर्न मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन छ।"
रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरे। तीन वटै सुरक्षा निकायका प्रमुख घटनास्थलमै पुगेर उद्धार कार्यमा जुटेको उल्लेख गर्दै उनले सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गरेका हुन।
लुम्बिनीमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु
प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन्। ती घटनामा ८५ जनाको मृत्यु, १३ जना घाइते र दुई जना बेपत्ता भएका छन्।
पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ। त्यस्तै बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अधिक वर्षाका कारण छ वटा घटना भएका छन्। बाढीमा परेर ४, चट्याङमा परेर ३, पहिरोमा परेर २० जनाको मृत्यु भएको छ।
रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ। थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ।
लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक-एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन्। चार स्थानीय तहमा गरी ३१८ घरधुरी जोखिममा रहेका छन्।
सुस्ताका लागि २५ लाख, रोल्पाको सडक र पुल मर्मतमा ५० लाख
परिषद्ले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ।
त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका-५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन अवरुद्ध भएको अवस्थामा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए।
सुलिचौर-थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ।
रोल्पामा राहत सामग्री पठाइयो
परिषद्ले नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पामा पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो।
यसैगरी नेपालगञ्जको गोदाममा प्रयोगको म्याद सकिएका सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको छ। डढेलो, आगलागी तथा बाढी पहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन कार्यालयमा मौज्दात रहेका खानेपानीका पाइप आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ।
मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले विपद् व्यवस्थापनका विषयगत समितिहरू ‘क्लस्टर’ को नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखी आफ्नो क्लस्टरलाई सक्रिय बनाउन पनि परिषद्ले निर्देशन दिएको छ।
भदौ ५, २०८३ शुक्रबार १५:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।