गीत विवाददेखि ‘ए’ सर्टिफिकेटसम्म : के हो प्रियंकाको ‘मास्टर्नी’?

गीत विवाददेखि ‘ए’ सर्टिफिकेटसम्म : के हो प्रियंकाको ‘मास्टर्नी’?

काठमाडौं : भदौ ५ गते अर्थात भोलीबाट प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’को चर्चा र विवाद अझै सेलाएको छैन। फिल्मको ‘म्याथ सिक्ने भए’ बोलको गीतमाथि शिक्षण पेशाको मानमर्दन गरेको आरोप लागेपछि निर्माण टिमले भिडियो युट्युबबाट हटायो, तर सामाजिक सञ्जालमा भइरहेको आलोचना भने मत्थर पार्न सकेको छैन।

अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले फिल्मको नाम र थिमलाई लिएर देखिएको विवाद चिर्ने प्रयासमा छिन्। काठमाडौंमा केहीदिन अघि सञ्चारकर्मीसँग पनि कुराकानीको क्रममा प्रियंकाले फिल्मको नाम ‘मास्टर्नी’ भए पनि यो शिक्षकसँग सम्बन्धित नभई गेम खेल्ने ‘मास्टरमाइन्ड’ पात्रमा आधारित कथा रहेको बताएकी थिइन्।

“यो टिचिङसँग सम्बन्धित छैन, मास्टर्नी,” प्रियंकाले भनेकी थिइन्, “यो एउटा मास्टर प्लान बनाउने, मास्टर गेम खेल्ने टाइपकोले चलाउने हो। त्यो सँग रिलेटेड भएर यो फिल्म मास्टर्नी आएको हो।”

नेपालमा क्राइम र सस्पेन्स थ्रिलर जनरामा बनेका सशक्त फिल्म बन्न नसकेको दाबी गरेकी उनले आफ्नो फिल्म फरकशैलीको कथा निर्माण भएको सुनाएकी थिइन्। “यो जनरा खासै एस्प्लोर भएको छैन नेपालमा,” उनले ठोकुवाका साथ भनिन्, “नेपालमा क्राइम थ्रिलर, सस्पेन्स थ्रिलर, क्राइभ इन्भेस्टिगेटिभ धेरै बनेकै छैन, बनेकै छैन भन्दा पनि हुन्छ। त्यसले गर्दा पनि यो (फिल्म मास्टर्नी) विशेष छ।”

फिल्मलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ। धेरै निर्माता आफ्नो फिल्मले युनिभर्सल सर्टिफिकेट नपाउँदा चिन्तित हुन्छन्, तर प्रियंका भने ‘ए’ सर्टिफिकेट पाउँदा पनि खुसी देखिइन्। फिल्ममा देखाइएको हिंसा र अन्य दृश्यका आधारमा बोर्डले सही निर्णय गरेको उनको तर्क थियो।

उनी भन्छिन्, “फिल्मले एडल्ट सर्टिफिकेट पाएकोमा मलाई कुनै चित्त दुखाई छैन। जे पाउनु पर्ने हो त्यही पायो।” यद्यपि आफूलाई १६ वर्ष मुनिका दर्शकले पनि हेरुन् भन्ने चाहिँ लागेको प्रियंकाले सुनाएकी थिइन्। तर फिल्ममा राखिएका हिंसात्मक दृश्यको कारण १६ वर्षमाथिका दर्शकलाई राखिएको उनको भनाई थियो।

प्रियंकासँगै रहेका उनका श्रीमान् तथा यस फिल्मका निर्माता आयुष्मान देशराज जोशीलाई फिल्मको लगानी सुरक्षित हुनेमा कतिको आशावादी हुनुहुन्छ भन्ने प्रश्न सोधिएको थियो। यसलाई आफूले प्रेसरको रूपमा लिएको उनले सुनाएका थिए।

उनले भनेका थिए, “त्यसलाई पनि प्रेसरको हिसाबमा, मान्छेले इन्टेष्ट गरेको छ। प्रेसरका रूपमा लिनु स्वाभाविक नै हो। त्यसको प्रेसरमा बसियो भने अरू चिज पनि बिग्रेर जान सक्छ। प्रेसरले काम बन्ला भन्ने छैन नि, बिग्रन पनि जान्छ। त्यसैले कामलाई राम्रो गरौं भन्ने लागेको छ। लगानी गरेपछि सुरक्षित नगरौं भन्ने कसलाई लाग्छ र? सुरक्षित बनाऊ भन्ने नै हो।”

भदौ ४, २०८३ बिहीबार १५:३२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।