टिजरले हाइप बनाएको फिल्ममा टालटुले भिडियोको चटक!
काठमाडौं : हलमा ४ सयको टिकट काटेर फिल्म हेर्न जाने दर्शकले पर्दामा ‘सिनेम्याटिक ओजन’ खोज्छन्। गीत होस् या दृश्य, त्यसले फिल्मकै झल्को दिनुपर्छ। तर, चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएपछि एउटा प्रश्न उब्जियो- यो फिल्मको गीत हो कि सामान्य म्युजिक भिडियो?
फिल्मको टिजरले जुन स्तरको हाइप र मेकिङको चर्चा बटुलेको थियो, भर्खरै सार्वजनिक गीतले भने त्यो उचाइलाई थाम्न सकेको देखिँदैन। लोक तथा दोहोरी शैलीको भाकामा तयार पारिएको यो गीत हेर्दा फिल्मको कथाभन्दा पनि युट्युबका लागि बनाइएको तीज विशेष भिडियो जस्तो लाग्छ। न कोरियोग्राफीमा फिल्मको ओजन छ, न त खिचाइमा त्यो भव्यता।
भिडियोमा गायक अर्जुन सापकोटा र ‘मिस पवी’ (पवित्रा साकी) लाई मुख्य रूपमा फिचर गरिएको छ। उनीहरूको प्रस्तुति हेर्दा कुनै ठूलो पर्दाको सिनेमाभन्दा पनि एक-डेढ लाखको लगानीमा हतार-हतार खिचिएको म्युजिक भिडियो हेरिरहेको भान हुन्छ। यदि यो फिल्मको कथाकै माग हो भने त बेग्लै कुरा, नत्र एडभान्स भइसकेका नेपाली दर्शकलाई यस्तै ‘सतही’ मेकिङले हलसम्म तान्न मुस्किल पर्न सक्छ।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सापकोटाका शब्द र अर्जुनकै संगीत सुन्न सकिन्छ। मिग्मा डि लेप्चाको कोरियोग्राफीमा गायक सापकोटा र मिस पवीसँगै सजिना खनाल र निश्चल खड्काले कम्मर मर्काएका छन्। भिडियोमा फिल्मका मुख्य हस्तीहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई ‘सम्मान’ स्वरूप झल्याक्क-झुलुक देखाइएको छ, तर त्यसले पनि भिडियोको ‘भिडियोपन’लाई ‘सिनेमा’मा बदल्न सकेको छैन।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेको यो फिल्म भदौ १९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, माओत्से गुरुङ जस्ता सशक्त कलाकारहरूको अभिनय रहेको फिल्मबाट दर्शकले ठूलो अपेक्षा राखेका छन्। यस्तोमा फितलो मेकिङको यो गीतले फिल्मको साख जोगाउला कि घटाउला ? त्यो भने भदौ १९ पछि नै थाहा हुनेछ।
भदौ ४, २०८३ बिहीबार १४:५६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।