प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रविले भने- उहाँ कवि र कलाकार पनि हो, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं

प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रविले भने- उहाँ कवि र कलाकार पनि हो, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफ्नो कुनै मतभेद वा समस्या नरहेको बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री र आफूबीचको कुनै समस्या वा असमझदारी नरहेको दाबी गर्दै सम्बन्ध बिग्रिएको समाचारले अझ नजिक ल्याइरहेको बताए।

केही समयअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा ‘एक्लो भएको’ भनी लेखेको स्टाटसबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले उक्त टिप्पणीलाई प्रधानमन्त्रीको ‘कवि भावना’का रूपमा लिनुपर्ने समेत बताए।

उनले भने, "दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ। तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ। त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन  यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ?"

लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताए। 

उनले भने, "राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला। धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ। त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन।"

लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए। संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो।

उनका अनुसार सरकार, मन्त्रालय र मन्त्रीहरूका विषयमा पार्टी पंक्तिभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि आन्तरिक छलफल गरिएको थियो।

"संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ। त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं," उनले भने।

भदौ ३, २०८३ बुधबार १६:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।