‘द राइज अफ साम्राज्य’मा विजय बरालको प्रवेश, ‘अगत्स्य’का कलाकार पुन: दोहोरिए

‘द राइज अफ साम्राज्य’मा विजय बरालको प्रवेश, ‘अगत्स्य’का कलाकार पुन: दोहोरिए

काठमाडौं : निर्देशक सौरभ चौधरी आफ्नो नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’को तयारीमा जुटेका छन्। नेपाली फिल्ममा फरकशैलीको कथा फिल्मको पर्दामा भन्न रुचाउने निर्देशक चौधरी ‘अगत्स्य : च्याप्टर १’ र ‘कर्मा’पछि तेस्रो फिल्मका रूपमा ‘द राइज अफ साम्राज्य’ निर्माण गर्न लागेका हुन्।

फिल्ममा ‘अगत्स्य : च्याप्टर १’मा काम गरेका सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन दोहोरिने भएका छन्। उनीहरूसँगै अभिनेता विजय बराल पनि फिल्ममा जोडिएका छन्। यससँगै ‘अगत्स्य’पछि चौधरीसँग विजयको पुनः सहकार्य हुने भएको हो।

‘एपिक एक्सन ड्रामा’ जनरामा निर्माण हुने फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। फिल्मको मुख्य महिला कलाकारबारे भने निर्माण पक्षले केही खुलाएको छैन। निर्देशक चौधरीले फिल्मको लाइनअपलाई थप बलियो बनाउने काम भइरहेको बताएका छन्।

‘अगत्स्य : च्याप्टर १’बाट एक्सन र थ्रिलर शैलीमा चौधरीले आफ्नो पहिचान बनाउने प्रयास गरेका थिए। यो फिल्मलाई दर्शकले केहि हदसम्म रुचाए पनि सोचे अनुसारको व्यापार गर्न सकेन। 

त्यसपछि भने  चौधरीले ‘कर्मा’ निर्देशन गरे। तर ‘कर्मा’ले अपेक्षाअनुसारको व्यापार गर्न सकेन। दुईवटै फिल्मबाट अपेक्षाअनुसारको सफलता नपाएपछि चौधरी  ‘द राइज अफ साम्राज्य’ निर्माण गर्न लागेका हुन्। चौधरीले आफ्नो नयाँ फिल्ममा पुनः अघिल्लो फिल्मका चर्चित कलाकारलाई समेटेका छन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन पूर्वी नेपालका विभिन्न जिल्लामा गरिनेछ। निर्माण पक्षका अनुसार फिल्मको ७० दिनको छायांकन तालिका तय गरिएको छ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्मका को–प्रोड्युसर विश्वास बस्नेत (बेन) हुन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा मानकृष्ण महर्जन डीओपीमा छन्। द्वन्द्व निर्देशन श्री श्रेष्ठले गर्नेछन्।

फिल्मको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा ७० दिनको सुटिङ सेड्युलका साथ खिचिने निर्माण पक्षले जनाएको छ।

फिल्मको डिसीएनले वितरणको जिम्मा लिएको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ। फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ। 

भदौ ३, २०८३ बुधबार १६:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।