नेपथ्यको गान्तोक कन्सर्टलाई सिक्किम सरकारको अपनत्व

नेपथ्यको गान्तोक कन्सर्टलाई सिक्किम सरकारको अपनत्व

काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले आगामी अक्टोबर ३१ तारिखमा सिक्किमको राजधानी गान्तोकमा आयोजना गर्न लागेको कन्सर्टलाई त्यहाँको राज्य सरकारले अपनत्व प्रदान गरेको छ। 

भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित विशेष समारोहका बीच सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले कन्सर्टको आधिकारिक टिसर्ट र टिकट सार्वजनिक गरे।

गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुने यस कन्सर्टलाई सिक्किमको राज्यस्तरबाटै महत्त्व दिइयो। आयोजक संस्था 'पोजितिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क'का अनुसार यस पटकको कार्यक्रम युवाहरूको सृजनशीलतालाई अघि बढाउन, संस्कृतिको संरक्षण र सिक्किमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा केन्द्रित रहनेछ।

सिक्किममा नेपथ्यको यो चौथो प्रस्तुति हुनेछ। यसअघि ब्याण्डले गान्तोकको बन्द सभागृहसहित पाक्योङ र राबाङलामा आफ्ना सांगीतिक प्रस्तुतिका साथ दर्शकको मन जितिसकेको छ। यस पटकको कार्यक्रम मुख्य रंगशालामा हुन लागेकाले यसलाई विगतको तुलनामा थप भव्य हुने अपेक्षा गरिएको छ।

आयोजक टोलीका संयोजक तेन्जिङ दोर्जेले मुख्यमन्त्रीबाट प्राप्त सहयोगले कार्यक्रमको उत्साह बढाएको बताए। उनका अनुसार सिक्किमको संगीत र संस्कृतिलाई युवा पुस्तासँग जोड्न यो कन्सर्टले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

ब्याण्डका मुख्य गायक अमृत गुरुङले सिक्किमेली दर्शकको सांगीतिक चेत र उनीहरूले दशकौंदेखि दिँदै आएको मायाको स्मरण गरे। गुरुङ भन्छन्,  "यसपाला कन्सर्टलाई लिएर निकै अगाडिदेखि उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ।"

नेपथ्यले सन् २०२६ भित्रै सिक्किमबाहेक नेपालको इटहरी र कीर्तिपुर तथा दक्षिण कोरियामा पनि कन्सर्ट गर्ने तालिका सार्वजनिक गरिसकेको छ। इटहरीको स्थानीय रंगशालामा आगामी नोभेम्बर ४ तारिखमा कन्सर्ट तय भएको छ।

कन्सर्टमा गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्। कन्सर्टका लागि इच्छुक दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटबाट अनलाइन टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

भदौ २, २०८३ मंगलबार १६:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।