छायांकन नसकिँदै निर्माता डुब्ने डर! अधुरा फिल्मको चाङ, कार्कीलाई भने नयाँ फिल्मकै धुन!
काठमाडौं : अभिनेता राजेश हमालको मुख्य भूमिका रहने गरी निर्देशक शंकर कार्कीले पाँच वर्षअघि फिल्म ‘सत्यम’ निर्माणको घोषणा गरे। आधा दर्जन चल्तीका कलाकारहरू रहने भनिएको उक्त फिल्मको निर्माण लागत छ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो।
फिल्मको प्रचारप्रसारका लागि मात्रै दुई करोड खर्च गरिने दाबीसमेत गरिएको यो फिल्म निर्माणको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको देखिँदैन। अभिनेता हमालले फिल्म ‘सत्यम’ निर्माण हुने अपेक्षामा लामो समय अरू फिल्ममा साइन नगरेको बताइन्छ।
तर, घोषणा भएको पाँच वर्ष भइसक्दा पनि फिल्म बनेको चर्चा अझै सुनिँदैन। यतिबेला उनै निर्देशक कार्कीले हात हालेको अर्को फिल्म ‘टिका’को छायांकन भने आधा सकिएपछि रोकिएको खबर सार्वजनिक भएको छ। गत फागुन अन्तिममा अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसर फिल्म ‘टिका’को घोषणा गरिएको थियो।
फिल्ममा वर्षा सिवाकोटी र महेश त्रिपाठीको मुख्य भूमिका रहने भनिएको यस फिल्ममा अन्य कलाकारमा ऋचा शर्मा, निर्मल शर्मा तथा बाल कलाकार आयुशी ढकालको रहने निर्माण पक्षले जानकारी गराएको थियो। भविष्य फिल्मस् प्रालीको प्रस्तुति र थर्ड आई आर्ट्सको सहकार्यमा निर्माण थालिएको यो फिल्ममा लगानी ‘जेरी अन टप’ की निर्मात्री भविष्य खड्काको र तेज विक्रम केसी कार्यकारी निर्माताका रूपमा रहेका थिए।
अब यस फिल्मको छायांकन अघि बढ्छ वा बढ्दैन निश्चित छैन। निर्देशक कार्कीले हात हालेको अर्को एक फिल्म ‘ज्यस्मिन’निर्माण गरिएको लामो समय भइसक्यो। तर प्रदर्शनबारे भने अन्योलता कायमै देखिन्छ। यो फिल्म हलमा लाग्छ कि लाग्दैन ? जवाफ अनुत्तरित छ। किनभने उनले निर्देशन गरिसकेका र निर्माणको चरणमा रहेका फिल्मले हल देख्न पाएका छैनन्।
घोषणामा सीमित ‘सत्यम’ र आधा खिचिएको ‘टिका’को अवस्थालाई हेर्दा निर्देशक कार्कीमाथि प्रश्न उठ्न थालेका छन्। अथवा निर्देशकको कमजोरी हो या निर्माताको असमर्थता, त्यो स्पष्ट हुन सकेको छैन। तर, ‘टिका’को छायांकन नसकिँदै निर्देशक कार्कीले अर्को एक नयाँ फिल्म (अनटाइटल)मा काम गर्न लागेको चर्चा भने सुरु भएको छ।
अघिल्ला प्रोजेक्टहरू अधुरै छाडेर नयाँ काममा लाग्ने उनको शैलीले फेरि निर्माता डुब्ने त होइन भन्ने चर्चा र आशंका सिने वृत्तमा उब्जिएको छ। वास्तविकता के हो ? त्यो भने निर्देशक स्वयम्ले जानुन् वा स्पष्ट पारुन्।
भदौ २, २०८३ मंगलबार १५:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।