स्क्रिनमा हँसाउने राजाराम अब पडकास्ट सञ्चालक, पहिलो गेष्ट ‘रातामकै’
काठमाडौं : हास्यकलाकार राजाराम पौडेल अब पडकास्ट सञ्चालकका रूपमा देखा परेका छन्। फिल्म ‘१५ गते’, विभिन्न नाटक तथा टेलिफिल्ममार्फत लामो समयदेखि दर्शकलाई हँसाउँदै आएका ७० वर्षीय वरिष्ठ कलाकार पौडेल अब भने विभिन्न कलाकारहरूसँग कुराकानी गर्दै अन्तरवार्ता लिनेछन्।
पछिल्लो समय पडकास्टको बढ्दो लोकप्रियतासँगै सुरु गरिएको उनको यो पडकास्ट हरेक शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ।
पडकास्टको पहिलो भागमा राजारामले आफ्नै पुराना सहकर्मी किरण केसी (रातामकै) सँग कुराकानी गरेका छन्। कुनै समय ‘किरा जोडी’का रूपमा देश-विदेशका स्टेज र मेला-महोत्सवहरूमा चर्चित यो जोडी अहिले भने फिल्म क्षेत्रमा बढी सक्रिय छ।
आजभोलि पडकास्टहरूमा भाइरल गराउने र अनेक फण्डा निकालेर अतिथिलाई रुवाउने वा हँसाउने प्रवृत्ति बढिरहेको छ।
तर, पहिलो अंकमा त राजारामले आफ्ना पुराना साथी रातामकैसँग रमाइलो कुराकानी गर्दै हँसाएरै बिदा गरे। अब अर्को शुक्रबार आउने अर्को अतिथिलाई उनले हँसाउँछन् कि, रुवाउँछन्, त्यो त हेर्न बाँकी नै छ।
भदौ १, २०८३ सोमबार १४:२५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।