देउवा समूहको सम्मेलन : कांग्रेसको १५ औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने, सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

देउवा समूहको सम्मेलन : कांग्रेसको १५ औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने, सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सम्मेलनले पार्टीको आगामी १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।

तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन गराइने तथा सभापति देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध बनाएर लैजाने निष्कर्ष निकालेको छ।

सम्मेलनले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ।

महाधिवेशन नभएसम्मका लागि पार्टीका नियमित क्रियाकलापहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजक सशांक कोइरालाले समन्वयमा सञ्चालन हुने निर्णय गरेको छ।

देउवा समूहले सम्मेलनमार्फत सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। हिन्दू, बौद्ध, किराँत तथा प्रकृति धर्मलगायतका परम्परा र संस्कृतिको संरक्षण गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्य बढाउने निर्णय गरेको छ।

त्यस्तै, वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक निकास दिने निर्णय गरिएको छ।

यसैबीच, २०८३ साउन ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव तथा सुझावलाई ससमेटेर परिमार्जनसहित पारित प्रस्तावहरूलाई लिपिबद्ध गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ। उक्त समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना तथा सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहने निर्णय गरिएको छ।

साउन ३१, २०८३ आइतबार १५:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।