मायाले भरिएको टिजरलाई नै दर्शकको धोका!
काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजरलाई दर्शकको माया पाउन धौँधौँ देखिएको छ। शुक्रबार रिलिज गरिएको टिजरले दुई दिनमा करिब एक लाख ३७ हजार भ्युज पायो। यो समाचार तयार पार्दासम्म भिडियोमा ‘लाइक’ र ‘कमेन्ट’को संख्या पनि न्यून देखिन्छ।
टिजरमा प्राप्त प्रतिक्रियाहरू भने नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी मिलेको देखिन्छ। अधिकांश कमेन्टकर्ताले कलाकारहरूको अभिनय र लुक्सको प्रशंसा गरेका छन्। यद्यपि, केही दर्शकले भने मुख्य अभिनेताको छनोट र टिजरमा समावेश भ्वाइसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
जसमध्ये एक प्रयोगकर्ताले लेखे, "के खालको हिरो राखेको यस्तो राम्रो फिल्म।" अर्का प्रयोगकर्ताले फिल्ममा समावेश अभिनेत्रीको सङ्ख्यालाई लिएर निर्देशक थापामाथि प्रश्न गरे। उनले कमेन्टबाटै सोधे, ‘हिरोइन कति हौँ?’
केही प्रयोगकर्ताले टिजर हेर्दा हिन्दी फिल्म ‘किस किस को प्यार करूँ’को झल्को आउने टिप्पणी समेत गरेका छन्। तर धेरै दर्शकले भने फिल्म हेर्न आतुर रहेको प्रतिक्रिया दिएको देखिन्छ। यसअघि सार्वजनिक गरिएको फिल्मको शीर्ष गीतलाई करिब ५ लाखभन्दा बढी पटक हेरिएको छ।
कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको निर्माण भएको फिल्मको टिजरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई समावेश गरिएको छ। जसमा भावनात्मक अन्तरद्वन्द्व र सिनेमाको मुख्य ‘ट्वीस्ट’ देखिन्छ।
टिजरमा एउटा संवाद छ, "जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ।" टिजरको संवाद जस्तै फिल्मलाई माया गर्नका लागि दर्शकले आगामी भदौ २६ गते रिलिज भएपछि कुर्नै पर्ने हुन्छ।
फिल्मका मुख्य कलाकार दिल श्रेष्ठको जीवनमा दुई युवतीको आगमन (नीति शाह र सृष्टि श्रेष्ठ)बाट आउने प्रेमको उतारचढावको सुरुवात हुन्छ। टिजर हेरेर नै सबै कुरा थाहा हुँदैन। तर फिल्मको कथावस्तुबारे कस्तो रहेको छ भन्ने विषयमा संकेत दिन्छ।
आगामी फिल्मको ट्रेलरले फिल्मको कथालाई अझ खुलाउला। पुरा कथाबारे थाहा पाउन आगामी भदौ २६ गतेदेखि हलसम्म पुग्नुपर्ने हुन्छ। रेखाको तेस्रो निर्देशकीय यस फिल्ममा दिल श्रेष्ठ, नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ। उनीहरू बाहेक मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद कुमार पौडेलको पनि अभिनय रहेको छ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी हरिनारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठले लगानी गरेका हुन्। रंगपत्रकार ध्रुव लम्सालको पटकथा तथा लेखन रहेको यस फिल्मलाई सुदीप बरालले खिचेका हुन्।
अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक रहेको यो फिल्ममा संगीत प्रशान्त सिवाकोटी, यो फिल्मलाई वितरणको जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्। रेखाले यसअघि निर्देशन गरेका दुई फिल्म ‘हिम्मतवाली’ र ‘मालिका’ हुन्। जसमा हिम्मतवाली हिट भएको थियो भने ‘मालिका’ले ठिकठाकै व्यापार गरेको बताइन्छ।
अब उनको तेस्रो निर्देशकीय फिल्मले कतिको व्यापार गर्ला ? त्यसको खुलासा बक्स अफिसले गर्ने नै छ। यही फिल्म रिलिज हुने मितिमा अन्य तीन फिल्म ‘बेहुली’, ‘पेन्सन पट्टा’ र ‘अक्षरा’ पनि हलमा लाग्दै छन्।
साउन ३१, २०८३ आइतबार १५:१३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।