'सरोगेट' विज्ञापन विवाद : एफडीएको निशानामा बलिउडका तीन अभिनेता

'सरोगेट' विज्ञापन विवाद : एफडीएको निशानामा बलिउडका तीन अभिनेता

एजेन्सी : महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए)ले प्रतिबन्धित 'विमल पान मसाला'को अप्रत्यक्ष (सरोगेट) विज्ञापन गरेको आशंकामा बलिउड अभिनेताहरू शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस जारी गरेको छ। 

राज्यमा सुर्तीजन्य र निकोटिनयुक्त पदार्थको बिक्री तथा प्रचारप्रसारमा कडाइ गरिरहेको नियामक निकायले उक्त नोटिस जारी गरेर अभिनेताहरूसँग स्पष्टीकरण माग गरेको हो।

एफएसएस एक्टको दफा २४ र ५३ बमोजिम एफडीएले विज्ञापनमा कलाकारहरूको भूमिका र ब्रान्डसँगको आबद्धतामाथि अनुसन्धान सुरु गरेको छ। महाराष्ट्रमा सन् २०१२ देखि नै गुट्खा र पान मसालाको उत्पादन, भण्डारण तथा बिक्रीमा प्रतिबन्ध लगाइएको छ। 

पछिल्लो पटक १३ जुलाई २०२६ सम्मका लागि उक्त प्रतिबन्धलाई निरन्तरता दिइएको छ। नियामक निकायका अनुसार 'विमल इलायची'को नाममा गरिएको विज्ञापनले वास्तवमा प्रतिबन्धित 'विमल पान मसाला' ब्रान्डकै प्रवर्द्धन गरिरहेको देखिन्छ। 

एफडीएले यसलाई 'सरोगेट विज्ञापन' (एक उत्पादनको नाममा अर्को प्रतिबन्धित उत्पादनको प्रचार)को संज्ञा दिएको छ। विज्ञापनको प्रस्तुति, संवाद र ब्रान्डको पहिचानले उपभोक्तामा भ्रम छर्ने र प्रतिबन्धित वस्तुको अप्रत्यक्ष प्रचार गर्ने कार्य ऐनको दफा २४ विपरीत हुने प्रशासनको ठहर छ।

महाराष्ट्र एफडीएका आयुक्त तुकाराम मुन्डेको नेतृत्वमा प्रतिबन्धित पदार्थ विरुद्ध विशेष अभियान सञ्चालन भइरहेको छ। एफडीएले पहिलो पटक यसरी ठूला कलाकारहरू संलग्न 'सरोगेट' विज्ञापनको सूक्ष्म जाँच गरिरहेको जनाएको छ। 

दोषी पाइएमा ऐनको दफा ५३ बमोजिम भ्रामक विज्ञापनमा संलग्न व्यक्तिलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। यसका साथै, सुर्तीजन्य पदार्थको अवैध ओसारपसार र बिक्रीमा संलग्न संगठित सञ्जाल देखिएमा प्रहरीसँगको समन्वयमा 'महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन'समेत आकर्षित गर्ने दिशामा प्रशासन अघि बढेको छ।

बलिउडका स्थापित कलाकारहरू संलग्न यो विज्ञापन विवादमा परेसँगै विज्ञापन बजारमा 'सेलिब्रेटी'हरूको जिम्मेवारी र ब्रान्ड एन्डोर्समेन्टको कानुनी पक्षमाथि नयाँ बहस सुरु भएको छ।

साउन ३१, २०८३ आइतबार १२:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।