विशेष महाधिवेशनले कांग्रेस कमजोर बनाएको देउवाको दाबी, सर्वोच्चबाट न्यायको अपेक्षा

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनाएको देउवाको दाबी, सर्वोच्चबाट न्यायको अपेक्षा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्रका आन्तरिक असहमति र विवादलाई समाधान गरी बृहत् एकतामा बदल्नुपर्ने बताएका छन्। मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेकाले कांग्रेसका नेता तथा कार्यकर्ताले राष्ट्रिय हितका पक्षमा सजग भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजमा व्याप्त निराशालाई चिर्दै आशा जगाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गरे। उनले लोकतन्त्रको संरक्षण र राष्ट्रिय स्वार्थका लागि पार्टीले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे।

देउवाले भने, "अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील देखिएको छ। यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय अहितका काम रोक्न, सचेत गर्न भूमिका खेल्नुपर्ने हुन्छ।"

पार्टीभित्र विगतमा पनि विवाद र मतभेद हुने गरेको स्मरण गर्दै उनले ती समस्यालाई संवाद र सहकार्यका माध्यमबाटै समाधान गरिएको उदाहरण प्रस्तुत गरे। वर्तमान असहमतिहरूलाई पनि विगतकै अनुभवका आधारमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

देउवाले भने, "धेरै कठिन चरम विवादहरूमा समेत सहमति र सहकार्यबाट मेलमिलाप भएको अनुभव प्रशस्त छ। त्यसैले पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय हुने, सबैको भावनाको कदर हुने गरी बृहत् एकतामा बदल्नुपर्छ।"

एकताको प्रक्रिया कुनै व्यक्ति वा समूह विशेषमा मात्र केन्द्रित हुन नहुने भएकोले सबै नेता-कार्यकर्ताको योगदानको सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो। संवाद, सहमति र सहकार्यका माध्यमबाट पार्टीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आम कार्यकर्तालाई एकताको पक्षमा उभिन आह्वान समेत गरे।

यद्यपि लामो गौरवमय इतिहास भएको कांग्रेसमा विशेष महाधिवेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गरे। चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुने गरी अघि बढ्न सबै लाग्नुपर्नेमा उनको जोड थियो।

मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उनले उल्लेख गरे। तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा कांग्रेसीजनहरूले गर्व गर्नुपर्ने उनको भनाइ थियो।

देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताए। उनले संविधान प्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताए। राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उनले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताए।

साथै उनले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए। देउवाले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजो मात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गरे। 

साउन २९, २०८३ शुक्रबार २२:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।