‘एक भागवत एक गीता’ले डुबाएपछि पुनः ‘ए मेरो हजुर’ शृंखलामा फर्किइन् झरना

‘एक भागवत एक गीता’ले डुबाएपछि पुनः ‘ए मेरो हजुर’ शृंखलामा फर्किइन् झरना

काठमाडौं : पछिल्लो फिल्म ‘एक भागवत एक गीता’ले बक्स अफिसमा व्यावसायिक धक्का व्यहोरेपछि निर्देशक झरना थापा पुनः ‘ए मेरो हजुर’ शृंखलामा फर्किएकी छन्।

शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै झरनाले अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने गरी श्रृंखलाको पाँचौं भाग ‘ए मेरो हजुर ५’को औपचारिक छायांकन सुरु गरिन्। महँगो लगानीमा निर्माण गरिएको ‘एक भागवत एक गीता’ असफलतापछि उनले थप जोखिम मोल्न नचाहेको देखिन्छ।

‘ए मेरो हजुर’को पाँचौ श्रृंखलालाई ब्रेक गरेर निर्माण गरिएको यो फिल्म तीन वर्षअघि प्रदर्शनमा आएको थियो। जसमा सुहाना थापा र  विपिन कार्की मुख्य भूमिकामा देखिएका थिए। फिल्म व्यवसायीक रूपमा असफल रहेपछि निर्माण पक्षले अर्को फिल्म निर्माणमा हात हालेन। ‘ए मेरो हजुर ३’बाट अभिनेत्रीका रूपमा डेव्यु गरेकी सुहानाले भने त्यसपछि ‘परालको आगो’मा अभिनय गरिन्।

उनको अभिनयले तारिफ पायो। तर, उनी फिल्ममा प्रमोसनमा भने त्यति धेरै खटिएको पाइएन। त्यसपछि ‘बा : एक योद्धा’मा झरना र सुहाना दुवै जनाको अभिनय रहेको छ। यो फिल्मको प्रदर्शन नजिकिँदै गर्दा झरनाले फिल्म ‘ए मेरो हजुर ५’को निर्माण घोषणा गरेकी हुन्।

उनले नेपालको पश्चिमी जिल्ला बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा फिल्म सुटिङ तालिका राखेकी छन्। त्यसको लागि उनले सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालसँग छलफल गरेकी छन्। बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र तर्फ लाग्ने तयारीमा छ।

आफू निकट केही पत्रकारको उपस्थितिमा गरिएको मुर्हुत कार्यक्रममा झरनाले बडीमालिका जस्तो धार्मिक धरोहरमा फिल्मको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको दाबी गरिन्। उनले भनिन्, "हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।"

फिल्ममा अघिल्ला श्रृंखलाकै कलाकार सुहाना र अनमोलका अलावा सलोन बस्नेत, दिलीप रायमाझी, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ। साथै झरना आफैले पनि यो फिल्मको एक मुख्य भूमिकामा रहने छन्। सुहाना र अनमोलको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहने यो फिल्मका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्दैछन्।

फिल्ममा प्रमुख सहायक निर्देशक नवराज शर्मा, सहायक निर्देशकमा अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् भने निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन्। कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलको छ। फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

स्मरण रहोस्, यसको पहिलो श्रृंखला अर्थात् ‘ए मेरो हजुर’लाई शिव रेग्मीले निर्देशन गरेका थिए। जुन फिल्म सफल पनि भएको थियो। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो श्रृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशन गरिरहेकी छन्। ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना नै थिइन। उनी यसै श्रृंखलामा २५ वर्षपछि पाँचौं संस्करणमा अभिनय गर्दैछन्। फिल्म अर्को वर्ष प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। 

साउन २९, २०८३ शुक्रबार २०:४०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।