एकताको सन्देश दिएका देउवाको प्रमुख आतिथ्यतामा अघि बढ्यो कांग्रेस इतर पक्षको भेला
काठमाडौं : उपचारको पाँच महिना लामो बसाई सक्काएर हङकङबाट स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आफू निकट नेताहरूको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
स्वदेश फर्किए लगत्तै आफू ‘राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको’ सन्देश दिएका देउवाले शुक्रबार कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन गरे। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला आज जारी छ। देउवाको एकताको सन्देशलाई विभाजन उन्मुख देखिएको उनकै पार्टीको एकता सुदृढीकरणसँग पनि जोडेर हेरिएको थियो।
तर, देउवाले भारतबाट स्वदेश फर्कँदा वीपी कोइरालाकै ‘मेलमिलापको नीति’बारे बोले पनि विमानस्थलबाट संस्थापन इतर पक्षको कार्यालयको बार्दलीमा पुगेर गुटको मलजल गरे। त्यहाँ उनलाई पार्टी सभापतिको रूपमा प्रस्तुत गरियो र सोही अनुसार नेमप्लेट राखियो।
पार्टीको विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई स्वीकार नगरेका देउवा स्वदेश फर्किदा सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धको मुद्दा पुनरावलोकन गर्न अनुमति दिइसकेको अवस्था छ। हाल पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको नेतृत्व नै सक्रिय छ।
देउवा स्वदेश फर्किए लगत्तै सभापति गगन थापाको संयोजकत्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई स्वागत समेत गरेको थियो। साथै, देउवाले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै बैठक पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको थियो।
देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको उनी पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर अभिभावकीय भूमिका खेल्ने विश्वास संस्थापन पक्षका नेताहरूले व्यक्त गरेको थिए। तर, शुक्रबारदेखि सुरु भएको कांग्रेस संस्थापन इतर पक्षको तीन दिने भेलामा उनको उपस्थित प्रमुख आतिथ्यको रूपमा भयो।
देउवालाई कांग्रेसको सभापति सम्बोधन गरिएको थियो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवाको प्रशंसामा भनेका छन्, "शेरबहादुरजीलाई बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो।" कार्यक्रममा कोइरालाले देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने दाबी गरे।
कांग्रेसलाई एकजुट बनाउनकै लागि भेला आयोजना गरिएको दाबी गर्दै उनले भने, "नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न सक्दैन।" राष्ट्रिय एकताको सन्देश दिएका देउवा पार्टीको आन्तरिक विवादमा भने एक गुटको पक्षमा उभिँदा अब कांग्रेस भित्रको विवादले कुन रूप लिन्छ भन्ने अहिलेको मुख्य चासोको विषय बनेको छ।
साउन २९, २०८३ शुक्रबार १५:१२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।