गीत बजाएको रोयल्टी नतिरेको भन्दै आठ रेष्टुरेन्ट र क्लबविरुद्ध अदालत पुग्यो संगीत रोयल्टी संकलन समाज
काठमाडौं : रोयल्टी नतिरी सार्वजनिक रूपमा गीत-संगीत बजाएको भन्दै ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ले काठमाडौंका विभिन्न ८ वटा रेष्टुरेन्ट, क्लब, बैंक्वेट र जिमखानाका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रअनुसार, प्रतिलिपि अधिकार ऐन, २०५९ को उल्लंघन गरेको दाबी गर्दै रोयल्टी संकलन समाजका तर्फबाट कृष्ण नेपालीले जाहेरी दिएका हुन्।
सरकारी वकिल कार्यालयमार्फत दायर गरिएको अभियोग पत्रमा आठ वटा व्यवसाय र तिनका सञ्चालकलाई प्रतिवादी बनाइएको छ।
काठमाडौंको माछापोखरी बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनकी सञ्चालक सोनाम तामाङ, सोही ठाउँमा रहेको मसल मेनिया फिटनेस सेन्टरका सञ्चालक दिपेन्द्र कुमार प्याकुरेल, तारकेश्वर नगरपालिका-८ मा रहेको मसल मेनिया फिटनेस क्लब २ की सञ्चालक आश्रीती गुरागाईं, एस ३ फिटनेसका सञ्चालक सुनिल नगरकोटीविरुद्ध मुद्दा दर्ता भएको हो।
यसका अलावा मदर्स बैंक्वेटका चन्द्र पोखरेल, नेपालटारस्थित द आइरन जिम एण्ड एरोबिक केन्द्रका राजेश महर्जन, मनमैजुको तारकेश्वर नेचर भ्यू प्रालिका बलराम सिटौला र काठमाडौं महानगरपालिका-१५ को टिमुर किचन रेष्टुरेन्टकी सञ्चालक मञ्जु थापामगरविरुद्ध मुद्दा दर्ता भएको हो।
जाहेरीमा ड्रिम्स क्याफे र क्लब वान लाउन्ज एण्ड बारको नाम उल्लेख भए तापनि उनीहरूले पछि रोयल्टीबापतको रकम र अनुमतिपत्र लिएकाले उनीहरूमाथि भने मागदाबी छाडिएको छ।
कति छ रोयल्टी दाबी र के छ कानुन?
समाजले यी ८ वटै संस्थाबाट जम्मा रु. ३ लाख ७६ हजार रोयल्टी/क्षतिपूर्ति दाबी गर्दै प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २७ अनुसार हदैसम्मको कारबाही माग गरेको छ।
समाजले मदर्स बैंक्वेटबाट १ लाख २० हजार, तारकेश्वर नेचर भ्यू प्रालिबाट १ लाख, माछापोखरी बर्गर हाउसबाट ६० हजार, मसल मेनियाका दुवै शाखा, एस ३ फिटनेस र द आइरन जिम गरी चार वटा जिम प्रत्येकबाट २० हजार रुपैयाँ र टिमुर किचनबाट १६ हजार रुपैयाँ रोयल्टी दाबी गरेको छ।
समाजका अनुसार, कुनै पनि व्यावसायिक वा सार्वजनिक स्थलमा गीत-संगीत बजाउँदा सर्जकको प्रतिलिपि अधिकार सुरक्षित गर्न समाजबाट पूर्वअनुमति लिनुका साथै तोकिएको वार्षिक रोयल्टी बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
पटक-पटक पत्राचार र अनुरोध गर्दा पनि ती संस्थाहरूले अटेर गरेपछि बाध्य भएर कानुनी कारबाहीमा जानुपरेको अभियोग पत्रमा उल्लेख छ।
संगीत रोयल्टी संकलन समाज नेपालले सन् २०२६ का लागि तय गरेको ‘ट्यारिफ सेड्युल’ अनुसार क्याफे/रेष्टुरेन्ट, बैंक्वेट, जिमखाना र क्लबहरूको क्षेत्रफलका आधारमा वार्षिक रोयल्टी निर्धारण गरिएको छ।
जसअनुसार, बैंक्वेट (पार्टी प्यालेस) ले क्षेत्रफलका आधारमा वार्षिक २० हजारदेखि १ लाखसम्म, फिटनेस क्लबले वार्षिक १० हजार र पब/बारहरूले वार्षिक ४० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म रोयल्टी बुझाउनुपर्ने नियम रहेको छ।
साउन २९, २०८३ शुक्रबार १४:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।