काखमा ‘लार गिब्बन’लाई लिएको भिडियोपछि विवादमा तमिल सुपरस्टार विक्रम, थालियो अनुसन्धान

काखमा ‘लार गिब्बन’लाई लिएको भिडियोपछि विवादमा तमिल सुपरस्टार विक्रम, थालियो अनुसन्धान

एजेन्सी : दक्षिण भारतीय (तमिल) फिल्मका चर्चित अभिनेता विक्रम लोपोन्मुख प्रजातिको वन्यजन्तु ‘लार गिब्बन’सँग भिडियो बनाएपछि कानुनी अनुसन्धानको घेरामा परेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको उक्त भिडियोका कारण भारतको वन तथा वन्यजन्तु विभागले यसबारे विस्तृत छानबिन सुरू गरेको छ।

अभिनेता विक्रमले इन्स्टाग्राममा गिब्बनलाई अँगालो हालेर माया गरिरहेको भिडियो सोमबार पोस्ट गरेका थिए।

भिडियो सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल बन्यो र कतिपयले यसलाई अभिनेताको ‘नयाँ पाल्तु जनावर’ भन्दै प्रचार गरे। तर, चौतर्फी आलोचना र कानुनी प्रश्न उठ्न थालेपछि उनले केही घण्टामै उक्त भिडियो हटाएका थिए।

आफन्तको घरमा भेटियो गिब्बन
वन्यजन्तु अधिकारीहरूका अनुसार उक्त गिब्बन चेन्नईस्थित अभिनेता विक्रमका एक नजिकका आफन्तको घरमा राखिएको फेला परेको छ।

तामिलनाडुका मुख्य वन्यजन्तु वार्डन राकेश कुमार डोगराका अनुसार कानुनबमोजिम आवश्यक अनुमति र कागजात भएमा मात्र यस्ता जनावर निजी रूपमा राख्न पाइन्छ। तर, यो जनावर कसरी र कुन प्रक्रियाबाट त्यहाँसम्म आइपुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।

अधिकारीहरूले अभिनेता विक्रम आफैँले तस्करी गरेको वा उक्त जनावर उनकै निजी स्वामित्वमा रहेको भन्ने पुष्टि भने गरिसकेका छैनन्। यस विषयमा विक्रमको तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

किन यति धेरै संवेदनशील छ ‘लार गिब्बन’?
‘लार गिब्बन’ मुख्यतया थाइल्याण्ड, मलेसिया, म्यानमारलगायत दक्षिण-पूर्वी एसियाका देशहरूमा पाइने दुर्लभ प्रजातिको सानो एप हो। वासस्थान विनाश, शिकार र अवैध व्यापारका कारण यो प्रजाति अहिले विश्वमै लोपोन्मुख अवस्थामा छ।

यो वन्यजन्तु अन्तर्राष्ट्रिय महासन्धि ‘साइटिस’द्वारा संरक्षित सूचीमा पर्दछ। भारतको कानुनअनुसार पनि विदेशबाट यस्ता जनावर ल्याउन विदेश व्यापार महानिर्देशनालयको अनुमति, ‘नो अब्जेक्सन’ पत्र र वन्यजन्तु संरक्षकको प्रमाणपत्र अनिवार्य हुन्छ।

मणिपुर हुँदै चेन्नईसम्मको रहस्यमय यात्रा
अनुसन्धानका क्रममा यो गिब्बनको सम्बन्ध दुई हजार किलोमिटरभन्दा टाढा रहेको उत्तर-पूर्वी राज्य मणिपुरसँग जोडिएको पाइएको छ। अधिकारीहरूका अनुसार सन् २०२० मा मणिपुरका एक व्यक्तिले मलेसियाबाट ल्याइएका ८ वटा गिब्बन सरकारी पोर्टलमा दर्ता गराएका थिए।

त्यसपछि गत जुन महिनामा तीमध्ये केही जनावर तामिलनाडुको इरोड जिल्लास्थित एक व्यक्तिकोमा ‘एडप्सन’का लागि ल्याइएको र अगस्ट महिनामा त्यहाँबाट विक्रमका आफन्तको घरमा पुर्याइएको खुलेको छ। तर, राज्यभित्र ल्याउँदा आवश्यक कानुनी अनुमति लिइएको थियो वा थिएन भन्ने कुनै प्रमाण फेला परेको छैन।

म्यानमारसँग सीमा जोडिएको मणिपुरलाई भारतमा विदेशी वन्यजन्तु तस्करीको मुख्य नाका मानिने गरिन्छ। त्यसैले भारतको केन्द्रीय ‘वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो’ले पनि यस घटनालाई गम्भीर रूपमा लिँदै कागजात प्रमाणीकरण र थप कारबाहीका लागि निर्देशन दिएको छ।

तीन दशकभन्दा लामो अभिनय यात्रामा कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका ५८ वर्षीय सुपरस्टार विक्रमका लागि यो भिडियो अहिले ठूलो कानुनी झमेलाको विषय बनेको छ।

साउन २९, २०८३ शुक्रबार ०७:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।